म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन्।
यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभएको छ। उहाँका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन्। यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिनुभयो। बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उहाँले बताउनुभयो। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ।
सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो। फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए। उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको राससले जनाएको छ।
मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन्। हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो। तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ।
गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ। गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभएको छ।
यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ। सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ। आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ।
हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।