कुम्भकर्ण हिमालमा फोहर सङ्कलन
2024-11-01 18:10:53cri
Share with:

ताप्लेजुङमा अवस्थित कुम्भकर्ण (फक्ताङलुङ) हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो। यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बन्ने गरेको छ।

यसै कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा थुप्रिएको फोहर सङ्कलन गरिएको छ। फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर सङ्कलन गरेको राससले जनाएको छ।

विद्यालयका शिक्षक र शिक्षिकाहरूद्वारा फोहर सङ्कलनका लागि एक अभियान सञ्चालन गरिएको निमित्त प्रधानाध्यापक विवश केदेमले बताउनुभएको छ। केदेमका अनुसार फोहोर सङ्कलन गर्ने यो प्रयास हिमालको सौन्दर्य र जैविक विविधता संरक्षण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो। यस अभियानमा कुम्भकर्ण हिमालको आधार शिविरमा पुगेका शिक्षकले पर्यटक र तीर्थयात्रीद्वारा छरिएको फोहर सङ्कलन गरेको बताउनुभयो।

शिक्षक अभिशेक लिम्बूका अनुसार विभिन्न प्रकारका फोहर प्लास्टिक, खाद्य वस्तुका खोल, कपडा आदि चार बोरा सङ्कलन गरिएको थियो। कुम्भकर्ण हिमालमा फोहरको समस्या सौन्दर्यको ह्रास हो, तर यसले स्थानीय पारिस्थितिकी प्रणालीमा पनि गम्भीर असर पुर्‍याउने भएकाले फोहर सङ्कलन गरेको शिक्षिका सुशन तामाङले बताउनुभयो। तामाङका अनुसार पर्यटकहरूले आफ्नो भ्रमणका क्रममा फोहर छोड्दा यसले प्राकृतिक वातावरणमा प्रदूषण दीर्घकालीन रूपमा हिमालको जैविक विविधता र स्थानीय जीवनशैलीमा नकारात्मक प्रभाव पार्न सक्छ।