नेपाल संवत् ११४५ सुरु, नेपाली माटोको मौलिक संवत् भएको प्रधानमन्त्रीको भनाइ
2024-11-02 16:16:28cri
Share with:

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धरले जानकारी दिनुभयो।

 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ। गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट साख्वालाई राष्ट्रिय विभूति र विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट नेपाल संवतलाई राष्ट्रिय मान्यता दिइएको थियो।

 

यसैबीच नयाँ वर्ष नेपाल संवत् ११४५ का अवसरमा प्रधानमन्त्री लगायत उच्च ओहदाका व्यक्तित्वले शुभकामना दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउँदै यो संवत् कुनै आयातित संवत् नभएकाले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्नुभएको नागरिकन्यूज डटकमले खबर लेखेको छ।