थाइ एअरको भैरहवा–बैंकक उडान शुरू
2024-11-03 16:42:08cri
Share with:

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि शुरु भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए तीन ३२० अवतरण गरेको छ। पहिलो उडानमा विमानका चालक दलका सातजना सदस्यहरु मात्र आएको प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यले जानकारी दिनुभयो।

उहाँले यो तालिका अनुसारकै उडान भएको बताउनुभयो। अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने उहाँको भनाइ छ। २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिनुभयो। योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको दुई दिन उडान गर्ने तयारी गरेको बताउनुभयो।

थाइ एअर एसियाको केही दिनअघि मात्र भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपियाँ रहेको छ। एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको गोरखापत्र अनलाइनले लेखेको छ।