नोभेम्बर ४ देखि ६ तारिखसम्म चीनका सर्वोच्च नेता सी चिनफिङले मध्य चीनको हुपै प्रान्तको निरीक्षण गर्नुभएको छ। उहाँले सङ्ग्रहालय, ग्रामीण खेत र औद्योगिक नवीनता र विकास अनुसन्धान संस्थानमा जानुभई गहन रुपमा जानकारी लिनुका साथै हुपै प्रान्तलाई मध्य चीनको उदीयमान स्थल बनाउन महत्त्वपूर्ण रणनीतिक आधारको निर्माणलाई गति दिन र हुपैमा चिनियाँ शैलीको आधुनिकीकरणको अध्याय लेख्नका लागि बन्दोबस्त गर्नुभएको छ। हुपै निरीक्षणको क्रममा सी चिनफिङले कुन-कुन स्थानको निरीक्षण गर्नुभयो? यसले के कस्तो अर्थ राख्छ त?
पुरातात्विक अनुसन्धान र सांस्कृतिक अवशेषहरूको संरक्षण प्रवर्द्धन
नोभेम्बर ४ तारिख दिउँसो, हुपैमा सी चिनपिङको निरीक्षणको पहिलो गन्तव्य स्याउकान शहरको युनमङ जिल्ला सङ्ग्रहालय थियो। त्यहाँ सांस्कृतिक अवशेषहरूको संरक्षण र अनुसन्धानलाई सबल बनाउने स्थानीय अवस्थामा ध्यान केन्द्रित गर्नुभयो।
राष्ट्राध्यक्ष सी चिनफिङले युनमङ जिल्ला सङ्ग्रहालयमा पुरातात्विक अनुसन्धानलाई निरन्तर सबल पार्दै सांस्कृतिक अवशेष संरक्षणको स्तरमा सुधार गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले चिनियाँ सभ्यताका खजानाहरूको संरक्षण जारी राख्दै भावी पुस्तालाई फाइदा पुर्याउनुका साथै मानिसहरूलाई निरन्तर राष्ट्रिय गौरव र आत्मविश्वास बढाउन प्रेरित गर्न आवश्यक रहेको पनि औँल्याउनुभयो।
सी चिनफिङले सांस्कृतिक अवशेषको संरक्षण र अनुसन्धानका लागि सधैँ ध्यान दिँदै आउनुभएको छ। सांस्कृतिक अवशेषको संरक्षण वर्तमान र भविष्यका लागि लाभदायक हुने उहाँको विश्वास छ। यो सी चिनफिङको सांस्कृतिक विचारको मूल विषयवस्तु हो।
आधुनिक कृषिको विकास वैज्ञानिक र प्राविधिक प्रगतिमा भर
ग्रामीण पुनरुत्थान सी चिनफिङको निरीक्षणको एक महत्त्वपूर्ण क्षेत्र हो। नोभेम्बर ५ तारिख बिहान, सी चिनफिङ स्याननिङ शहरको च्यायु जिल्लामा ग्रामीण पुनरुत्थानको स्थानीय स्तरोन्नतिको अवस्थाको निरीक्षण गर्नुभयो।
च्यायु जिल्ला याङच नदीको मध्य भागको दक्षिण किनारमा अवस्थित छ र सागसब्जी उद्योग त्यहाँको अग्रणी कृषि उद्योग हो जुन चीनभरि राम्रो बिक्री हुन्छ र विदेशमा समेत निर्यात गरिन्छ। सी चिनफिङले स्थानीय किसान स्योङ छङलोङको घरमा कुराकानी गर्दै भन्नुभयोः चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाउँदा, हामीले ग्रामीण पुनरुत्थानको प्रवर्द्धनलाई गति दिनुपर्दछ। सबैभन्दा पहिले, मानिसहरूलाई समृद्ध बनाउने उद्योगहरूको विकास गर्नुपर्छ।
गाउँलेहरुले आफ्नो मेहनती हातले विशेषतायुक्त उद्योगधन्दालाई अझ बढी नाफामुलक बनाई गाउँलाई अझ सुन्दर बनाउँदै सँगै सुखी र सुन्दर जीवनयापन गर्ने आशा पनि उहाँले राख्नुभयो।
वैज्ञानिक र प्राविधिक नवीनता र औद्योगिक एकीकरणको आवश्यकता
सी चिनफिङको हुपै निरीक्षणको अन्तिम गन्तव्य हुपै प्रान्तको राजधानी वुहानमा अवस्थित औद्योगिक नवप्रवर्तन र विकास अनुसन्धान संस्थान थियो। चिनियाँ आधुनिकीकरणको कुञ्जी वैज्ञानिक र प्राविधिक आधुनिकीकरणमा निहित रहेको सी चिनफिङको विश्वास छ। यस निरीक्षणका क्रममा सी चिनफिङले हुपै प्रान्तको भावि विकासबारे चर्चा गर्दै भन्नुभयोः हुपैले वैज्ञानिक र प्राविधिक नवीनता र औद्योगिक नवीनतालाई बढाउनुपर्छ। सुधारलाई व्यापक रूपमा गहन बनाउनुपर्छ र उच्च-स्तरीय खुलापनको विस्तार गर्नुपर्छ। साथै, शहरी-ग्रामीण एकीकरण विकास र व्यापक ग्रामीण पुनरुत्थानलाई बढाउनुपर्छ। सांस्कृतिक स्रोतहरूको संरक्षणलाई सुदृढ गर्नुका साथै सांस्कृतिक नवीनता र विकासलाई अगाडि बढाउनुपर्छ।