ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका टाँसी शेर्पाले खिचेको रेडपाण्डाको तस्बिर र भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्। ओलाङचुङगोलाको बस्ती र याङ्मा जाने बाटोमा खिचेको तस्बिरमा उहाँले ‘किन लुकेको यता हेरन’ भन्दा रेडपाण्डाले अनुहार फर्काएर पोज दिएको छ।
‘उहाँले खिच्दापनि नजिकै थियो रे,’ टाँसीले खिचेको भिडियो सार्वजनिक गर्नु भएका तेञ्जिङ शेर्पाले भन्नुभयो, ‘यतातिर बस्तीनजिकै रेडपाण्डा देख्न मज्जाले पाइन्छ।’
यो कञ्चजनंघा संरक्षण क्षेत्रमा पर्दछ। संरक्षणको कार्यक्रम अन्त भएपनि पर्यटकले हेर्ने देख्नेगरिको रेडपाण्डा ओलाङचुङगोला क्षेत्रमा रहेको तेञ्जिङले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। मानिसबाट कुनै जोखिम नरहेकाले मान्छे हिँडडुल गर्दा नजिकसम्म आउने गरेको उहाँले बताउनुभयो।
रेडपाण्डा नेटवर्कले फुङलिङ नगरपालिका लगायतको क्षेत्रमा संरक्षण सम्बन्धी कार्यक्रम गर्दै आएको छ। ताप्लेजुङ, पाँचथर, इलामलाई रेडपाण्डाको राम्रो बासस्थान रहेको जिल्लामा सुचीकृत गरिएको छ।
तीन जिल्लामा तीन सयको हाराहारीमा रहेको अनुमान गरिएपनि यतिकै संख्यामा छ भन्ने यकिन नभएको संरक्षणकर्मी बताउँछन्।