चाइना साउदर्नद्वारा क्वाङचौ काठमाडौँ उडानमा एयरबसको ए ३२० निओको प्रयोग
2024-11-13 15:38:43CRI
Share with:

चीनको क्वाङचौ र काठमाडौँबीच उडानमा चाइना साउदर्न एयरलाइन्सले पहिलेको जहाजको दाँजोमा १५ सिट बढी भएको एयरबसको ए–३२० निओ जहाजबाट मंगलबारदेखि उडान थालेको छ। चाइना साउदर्नले यसअघि प्रयोगमा ल्याएको ए–३१९ जहाज १ सय १५ सिट क्षमताको हो।

‘यसले यात्रुहरूलाई थप विकल्प प्रदान गर्नुका साथै उडानलाई अझ आरामदायी बनाउने छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ,‘एयरबस ए–३२०को दाजोमा निओ जहाजको क्याबिन डिजाइन थप फराकिलो र सुधारिएको सिट व्यवस्थापन छ। यात्रुहरुहरूलाई निओमा अझ फराकिलो र आरामदायी उडान अनुभव प्रदान हुने छ।’

चीन र नेपालबीचको हवाई सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धि भएको जनाउँदै चाइना साउदर्नको नेपाल कार्यालयले यस उडानको स्तरोन्नतिमार्फत चीन–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा दुई देशबीचको मानवीय र आर्थिक आदानप्रदानलाई बढावा दिन थप सहज र आरामदायी हवाई पुल निर्माण गर्ने अपेक्षा गरिएको जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

चाइना साउर्दनका डेपुटी सेल्स म्यानेजर धिरज श्रेष्ठका अनुसार, यस वायुसेवाले नेपालमा २०६३ देखि उडान गर्दै आएको छ। खाडी मुलुकका वायुसेवाको महंगो भाडा र लामो ट्रान्जिटको विकल्पमा चाइना साउर्दन अष्ट्रेलिया, अमेरिका र क्यानडा ओहोरदोहोर गर्ने नेपाली विद्यार्थी र अभिभावकहरुको रोजाईमा पर्छ। त्यस्तै चीनमा व्यापार गर्न जाने नेपाली व्यवसायीहरु पनि यसैको उडानबाट क्वाङचौ हुँदै अन्य प्रान्तमा पस्ने गर्छन्।

भारतले लगाएको अघोषित नाकाबन्दीमा यस्ले नेपालमा इन्धन अभावको कारण देखाउँदै ७ महिना उडान रोकेको थियो। त्यस्तै कोभिडमा यो वायुसेवाले १९ महिनापछि २०७९ मंसिरबाट पुन उडान सुचारु गरेको थियो। यसले दैनिक चीन नेपाल उडान गर्दै आएको छ।