स्थानीय समय नोभेम्बर १७ तारिख अपराह्न, ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा रियो डी जनेरियोमा पुग्नुभएपछि ब्राजिलको राष्ट्रिय भ्रमण थाल्नुभएको छ साथै २० देशका नेताहरूको समूहको १९औँ शिखर सम्मेलनमा सहभागी हुनुभएको छ।
विशेष विमानबाट रियो डी जनेरियोको गैलियन एयरबेसमा पुगेपछि ब्राजिल सरकारका उच्चस्तरीय अधिकारीहरूले राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गरेका थिए।
विमानस्थलमा राष्ट्राध्यक्ष सीले सम्बोधनमा ब्राजिल सरकार र जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधनमा भन्नुभयो: विगत वर्षहरूमा म ४ पटक ब्राजिल आएको छु र ३० वर्षहरूमा ब्राजिलको विकास देखेको छु। आज फेरि यो भूमिमा पुगेर मलाई धेरै आनन्द लाग्यो। चीन र ब्राजिल साझा इच्छा बोकेका असल साथी हुन्, हात मिलाएर अघि बढ्ने साझेदार हुन्। दुई देशले विश्वका पूर्वी तथा पश्चिमी दुईटा ठूला विकासोन्मुख देशको रूपमा टाढा भए पनि एक आपसमा आकर्षित गरेका छन्। हालका वर्षहरूमा दुई देशले रणनीतिक पारस्परिक विश्वास सुदृढ पार्दै छन्, व्यवसायिक सहकार्य र साँस्कृतिक आदानप्रदानमा फलदायक नतिजाहरू पाएका छन्, परम्परागत मित्रता नयाँ युगमा जीवित हुँदै गएको छ। अन्तर्राष्ट्रिय समाजमा ग्लोबल साउथको न्यायोचित आवाज उठाएर विश्वको शान्ति तथा विकासको लागि महत्वपूर्ण भूमिका राख्ने छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक व्युरोका सदस्य छची र वाङ यी लगायतका अधिकारीहरू पनि राष्ट्राध्यक्ष सीसँगै ब्राजिल जानुभएको छ।
ब्राजिलका लागि चीनका राजदूत चु चिङच्यो विमानस्थलमा स्वागत गर्न पुग्नुभएको थियो।