नारायणगढ-बुटवल सडक विस्तारमा ६ वर्षमा तीन पटक म्याद थप
2024-11-18 17:45:21cri
Share with:

नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि ६ वर्षमा तीन पटक म्याद थपिएको छ। सडक विस्तारका लागि तेस्रो पटक म्याद थप भएपनि निर्माण प्रगति ५३ प्रतिशत कट्न सकेको छैन ।

 

कान्तिपुर अनलाइनका अनुसार ठेक्का लिने कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । तर त्यसअनुसार ठेकेदारले न कामको गति बढाए, न काम नै सके । त्यसमाथि दोस्रो पटक आयोजनाले परामर्शदातामार्फत एनटीसी (नोटिस टु करेक्ट) नोटिस जारी गर्दै तोकिएको समयभित्र काम नसके ठेक्का तोड्ने चेतावनी दिएको छ ।

 

एनटीसीअनुसार २०२४ डिसेम्बरसम्म एक साइडको काम ७० प्रतिशत सकिसक्नुपर्ने र २०२५ को मार्चसम्म कम्तीमा एक साइडको पूरै काम सकेर यातायातका साधन चल्ने बनाउनुपर्नेछ । तोकिएको सर्तअनुसार काम नभए ठेक्का तोड्नुको विकल्प नहुने सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताउनुभयो। यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।

 

थाहा भएअनुसार निर्माण व्यवसायीले स्थानीय भेन्डर, सप्लायर्सलगायतको डेढ अर्बभन्दा बढी तिर्नुपर्नेछ जसले गर्दा भुक्तानी नपाएकाहरूले काम रोक्नेसम्मको चेतावनी दिँदै आएका छन् । ०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । यसलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११३ किमि सडकमध्ये ७० किमि ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ ।

बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ । अहिलेसम्म दुई लेन सडक ८० र चार लेन सडक ४० किमि मात्र सडक कालोपत्र भएको छ ।

 

तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिलेसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । केही समयअघि यो सडकको अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थपिएको समयभित्र काम नसकिए ठेक्का तोडेर नयाँ प्रक्रिया थालिने भन्नुभएको थियो।

 

काममा प्रगति नभएको बारे र प्रगति बढाउन मन्त्रालयले आयोजना कार्यालयमा पटक–पटक ताकेता गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताउनुभयो । ‘एनटीसी नोटिस जारी गरिसकिएको छ, त्यसअनुसार काम हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसअनुसार काममा प्रगति नभए मन्त्रालय ठेक्का तोड्ने प्रक्रिया अघि बढ्नेछ ।’

 

पटक–पटक काम गर्ने मौका दिँदा पनि काम नगर्नेसँग ठेक्का तोड्न ढिलाइ भएको पूर्वसचिव तुलसी सिटौला बताउनुहुन्छ। ‘ठेक्का तोड्न अप्ठ्यारो छैन, समय सकिसक्यो, काम आधा मात्र भएको छ,’ उहाँले भन्नुभयो, ‘ठेक्का गत वर्ष नै तोड्नपर्थ्यो, ढिलो भइसक्यो, अब समयमै ठेक्का तोडेर नयाँ ठेक्काको व्यवस्थापन गरी काम सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ ।’ अब प्रगति बढाउने अवस्था नदेखिएकाले सरकारले अवसर दिँदा पनि काम नगर्नेलाई कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उहाँले जनाउनुभयो।