दुर्गमका १० जिल्लामा अब पेट्रोल पम्प
2024-11-20 17:09:30cri
Share with:

सबै जिल्लामा पेट्रोल पम्प पुर्‍याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा पनि पम्प सञ्चालन गर्ने तयारी थालेको छ । प्याक्ट बिक्रेतामार्फत बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ । पम्प नहुँदा बोटल/बोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाउनुभयो।

निगमले बझाङ, बाजुरा, कालीकोट, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपूर्व, मनाङ र मुस्ताङ जिल्लामा कम्तीमा एउटा पम्प खोल्ने योजना बनाएको छ । भट्टका अनुसार पहिलो चरणमा निजी क्षेत्रका लागि खुला गरिनेछ । निजी क्षेत्र इच्छुक नभए निगम आफैंले सञ्चालन गर्ने तयारी थालेको छ । निगमले अहिले विवरण संकलन गरिराखेको जनाएको छ । ‘इजाजत लिएर सञ्चालन नगरेको पनि हुन सक्छ । महँगो भएका कारण सञ्चालन नभएको पनि हुन सक्छ । यी सबैको खोजी भइराखेको छ,’ निगमका प्रवक्ता पूर्ण रिजालले भन्नुभयो, ‘साधारण पम्प नभएका जिल्लामा पहिलो प्राथमिकतासहित छिट्टै सूचना प्रकाशन गर्नेछौं । पूर्वाधार पुर्‍याउन सक्नेले पम्प सञ्चालन गर्न सक्छन् ।’

पम्प सञ्चालनका लागि पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ मा स्पष्ट व्यवस्था गरिएको छ । अहिले प्राथमिकतामा परेका १० जिल्लाको हकमा ‘ग’ वर्गका पम्प सञ्चालनको अनुमति दिइनेछ । विनियमावलीअनुसार ‘ग’ वर्गका पम्प सञ्चालन गर्न जग्गाको क्षेत्रफल कम्तीमा १२०० वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी ६ आना (पहाडी भेग) भई सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्छ । बिक्री स्थल हाताभित्र विभिन्न सुविधायुक्त मास्टरप्लान नक्साबमोजिम कम्तीमा ७६ वर्ग मिटर ‘प्लिन्थ क्षेत्रफल’ को पक्की बिक्री कक्ष भवन निर्माण गरेको हुनुपर्छ । कान्तिपुर अनलाइनका अनुसार प्रस्तावित बिक्रीस्थलको राजमार्गको ‘क्यारेज वे’ देखि ‘एप्रोच यार्ड’ तथा पार्किङ स्थलको पेभमेन्ट ब्याकटप कंक्रिट वा इन्टरलकिङ कंक्रिट टायलले फिनिसिङ गरेको हुनुपर्छ ।