चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकमा (साउन–कात्तिक) आयातनिर्यातमा सामान्य सुधार आएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्क अनुसार आयात ०.१७ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपियाँको वस्तु आयात भएको छ। गोरखापत्र अनलाइनका अनुसार गत वर्षको सो अवधिमा पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपियाँको वस्तु आयात भएको थियो ।
यस्तै चालु आवको चार महिनामा निर्यात ४.१६ प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपियाँको निर्यात भएको थियो । चार महिनामा कुल वैदेशिक व्यापार पाँच खर्ब ६६ अर्ब ५८ करोड ७४ लाख रुपियाँको भएको छ । गत आवको सो अवधिमा कुल वैदेशिक व्यापारको आकार पाँच खर्ब ६३ अर्ब छ करोड रुपियाँ रहेको थियो ।
चार महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेर चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपियाँको व्यापार घाटा थियो । चार महिनामा छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै वैदेशिक व्यापार भएको छ । विभागका अनुसार भारतबाट चार महिनामा सबैभन्दा धेरै तीन खर्ब १६ अर्ब ८८ करोड बराबर आयात हुँदा नेपालबाट ३५ अर्ब ७६ करोड बराबर सामान निर्यात भएको छ । यस्तै चार महिनामा चीनबाट नेपालमा एक खर्ब तीन अर्ब रुपियाँ बराबरको सामान आयात हुँदा ६८ करोड रुपियाँ बराबरको सामान नेपालबाट चीन निर्यात भएको छ ।
विभागको तथ्याङ्क अनुसार चार महिनामा ८८ अर्ब २६ करोड रुपियाँ बराबर इन्धन आयात भएको छ । ४२ अर्ब ५८ करोड रुपियाँ बराबरको आइरन र स्टिल आयात भएको छ । ३६ अर्ब ९५ करोड रुपियाँ बराबरको विद्युतीय उपकरण र पाट्र्स आयात भएका छन् । यस्तै ३२ अर्ब ७३ करोड सवारीसाधन र १३ अर्ब ३० करोड बराबरको तरकारीजन्य वस्तु आयात भएको छ। नेपालले विभिन्न १४२ वटा मुलकसँग वैदेशिक व्यापार गर्दै आएको छ ।