रवि- ध्रुवजी, तपाईंले गएका केही हप्तामा तपाईंले शाङ्गहाईमा देख्नुभएका र भोग्नुभएका शाङ्गहाईका बारेमा अध्ययन गरेका कुराहरु हामीलाई राख्नुभएको थियो । पैचिङ्गमा सम्पन्न दुई वटा अधिवेशनपछि अगिल्लो हप्तामा तपाईंसँग गरेका शाङ्गहाईका कुराकानी पनि निकै रोचक र जानकारीमूलक थिए । अब भने नयाँ विषयमा कुरा गरौं जस्तो लाग्यो । के छ तपाईंको विचार ?
ध्रुव- हुन्छ रविजी । म शाङ्गहाईबाट फर्किएको एक हप्ता पनि पुग्न नपाउदै चीनको पल्लो शान्षी प्रान्तमा रहेको उ थाइशान गएको थिएँ । शाङ्गहाईको कार्यक्रममा सँगै रहनुभएका नेपालका पूर्व राजदूत, राजनीतिज्ञ र लेखक हिरण्यलाल श्रेष्ठजी सँगसँगै मैले पनि उ थाइशान जाने मौका मिलाएको थिएँ । एकातिर नेपालका राष्ट्रिय विभूति कलाकार अरनिकोले उ थाइ शानमा बनाएको श्वेतचैत्य कस्तो होला भन्ने मलाई लागेको थियो भने अर्कोतिर पर्यटकीय दृष्टिकोणले पनि चीनका प्रसिद्ध ठाउँहरुमध्येको एक हो त्यो ठाउँ । वास्तवमा पैचिङ्गबाट धेरै टाढा भन्न नमिल्ने त्यो ठाउँमा सजिलै पुग्न सकिने रहेछ । तर पहिला मलाई यो कुराको जानकारी नभएर हामी दुबै जनाले एक दिन पूरै समय अलमलमा बिताउनुपर्यो ।
रवि- कस्तो अलमलमा पर्नुभयो तपाईंहरु ?
ध्रुव- रविजी, मैले उ थाइशान जानुभन्दा अगाडि धेरै जनासँग त्यहाँ जाने तरिका, पैचिङ्गबाट त्यहाँ पुग्न लाग्ने र त्यहाँ पुगेपछि बिताउनुपर्ने समय, त्यहाँको मौसम आदि विषयमा जानकारी लिन धेरै प्रयास गरेँ । किनभने हिरण्यलालजीलाई चिनियाँ भाषा फिटिक्कै आउदैनथ्यो । र, अंग्रेजी भाषा जान्दैमा काम पूरा हुन्छ भन्ने ग्यारेन्टी हुँदैन भन्ने उहाँलाई पूरा हेक्का थियो । अनि हिरण्यजीको चीनको बसाइ पनि धेरै लामो थिएन । उथाइ शानको बारेमा धेरै कुरा सुनेको भए तापनि त्यहाँ जाने तरिकाको बारेमा मलाई कुनै जानकारी थिएन । मैले धेरै चिनियाँ र नेपाली साथीहरुलाई सोध्ने क्रममा कसैले त्यहाँ रेल पुग्दैन, बस वा हवाइ जहाजबाट जानुपर्छ भने । कसैले यो मौसममा त्यहाँ एकदमै जाडो हुन्छ भने । जाडो भएकोले त्यहाँ जाने मान्छे हुँदैनन्, त्यसैले त्यहाँ पुग्ने सार्वजनिक बस पाउन पनि गाह्रो हुन्छ भने । एकातिर, मेरो क्लास भएको हुनाले शुक्रबार साँझ मात्रै पैचिङ्गबाट हिड्न सक्ने अवस्था थियो र आइतबार रातिसम्ममा पैचिङ्ग फर्किनुपर्ने बाध्यता थियो भने अर्कोतिर, सोमबार नै हिरण्यलालजीले पैचिङ्ग छोड्नुपर्ने दिन थियो । जहाडजको भाडा निकै महंगो र विमानस्थलबाट उथाइशानसम्म जानका लागि फेरि 200 किलोमिटरको मोटरबाटो तय गर्नुपर्ने अर्को बाध्यता थियो । तर पैचिङ्गबाट उथाइशान करिब 400 किलोमिटर टाढा रहेछ । यो थाहा पाएपछि मैले कार भाडामा लिने बिचार गरेँ । तर त्यहाँ पुगेर फर्कनको लागि झन्डै 40 हजार नेपाली रुपियाँ लाग्ने भएपछि अर्को उपाय खोज्न लागेँ ।
|