• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-11-20 16:14:23    
पाण्डाको घर अर्थात् स छ्वान ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्र

cri Author: मेघा

              यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, आजको "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगिता सम्बन्धी कार्यक्रमबाट म सञ्चालिका मेघाको नमस्कार। यसअघिका पाँचवटा कार्यक्रममा हामीले सँगसँगै चीनको स छ्वान प्रान्तका रमणीय तथा विशेषतायुक्त दृश्यको अवलोकन गरिसकेका छौं। यसबाट तपाईंहरुले स छ्वान प्रान्तका बारेमा केही जानकारी पाइसक्नुभएको होला। आजको कार्यक्रममा म तपाईंहरुलाई स छ्वान प्रान्तका विशेषतायुक्त जनावर अर्थात् पाण्डाबारे केही जानकारी गराउनेछु। हामी सँगसँगै स छ्वान प्रान्तको सदर मुकाम छङ्ग तु शहरबाट एक सय किलोमिटरभन्दा टाढा पर्ने ओ लोङ्ग नामक प्राकृतिक संरक्षण क्षेत्रमा पाण्डाको बासस्थान हेर्न जाऔं ल!

             कार्यक्रमको शुरुमा म आजका दुइवटा प्रश्न तपाईंहरु समक्ष प्रस्तुत गर्दछु। ध्यानपूर्वक सुन्नुहोस, है त! पहिलो प्रश्न: पाण्डाको जन्मथलो चीनको कुन प्रान्तमा पर्दछ? दोस्रो प्रश्न: ओ लोङ्ग नामक प्राकृतिक संरक्षण क्षेत्रमा जङ्गली पाण्डाको संख्या कति छ? यी दुइवटा प्रश्नको उत्तर आजको कार्यक्रममा समावेश छन। अब हामी आजको कार्यक्रमतर्फ लागौं!

             श्रोताहरु, अहिले तपाईंहरुले सुनिरहनुभएको यो गीतको शिर्षक "मि मि नामक पाण्डा" हो। बीस वर्षअघि पाण्डाले मन पराउने खानाहरुमध्येको एक अर्थात् च्येन चु नामका बाँसहरु प्राकृतिक कारणले नष्ट भएका थिए। पाण्डाको भावी जीवन अवस्थामा सुधार गर्नका लागि चिनियाँ संगीत क्षेत्रका व्यक्तित्वले यस गीतको सिर्जना गर्नुभएको हो। त्यस प्राकृतिक संरक्षण क्षेत्रमा मानिसहरुको प्रयासमा हालआएर च्येन चु नामक बाँसको जंगल निकै घना र हरियालीपूर्ण भएको छ। त्यसैले त्यस क्षेत्रमा हाल प्रकृतिका सबैभन्दा पुराना, सुन्दर र मूल्यवान जनावर पाण्डा आनन्दसँग बाँचिरहेका छन।

              उत्तर-पश्चिमी स छ्वान प्रान्तको ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्र पाण्डाको बसोबास रहेका मुख्य क्षेत्रहरुमध्येको एक हो। त्यसैकारण स छ्वान प्रान्तलाई पाण्डाको जन्मथलो मानिन्छ। चीनका स छ्वान, पल्लो शान सी र कान सु लगायतका केही प्रान्तका जङ्गलमा मात्रै जङ्गली पाण्डा देख्नपाइन्छ। पाण्डासित घनिष्ट रुपमा सम्पर्क राख्न ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रको अवलोकन गर्नु चिनियाँ वा विदेशी पर्यटकहरुका लागि सबैभन्दा राम्रो छनौट हो। सो संरक्षण क्षेत्रका जिम्मेवार व्यक्ति चाङ्ग लि मिङ्गले यस सम्बन्धमा जानकारी दिंदै भन्नुभयो:

              पाण्डाहरुलाई स्वस्थ रुपमा हुर्काएर पाण्डासित प्रत्यक्ष सम्पर्क राख्ने सुअवसर सारा विश्वका पाण्डाप्रेमीहरुलाई उपलव्ध गराउनु हाम्रो उद्देश्य हो। पर्यावरणको संरक्षण किन गर्नुपर्ने भन्ने बारेमा र पाण्डाको इतिहासबारे पनि हामीले यहाँ पुगेका पर्यटकहरुलाई जानकारी दिनेगरेका छौं। पर्यटकहरुले पाण्डाको अवलोकन गर्नुका साथै एक किसिमको पुरानो जनावरको हैसियतले पाण्डाको आफ्नो विशेषताबारे पनि ज्ञान प्राप्त गर्नसक्ने आशा हामीले गरेका छौ‌।

             पाण्डाको चिट्टिक परेको जीउ तथा रौंको कालो र सेतो रङ्गले मानिसहरुलाई निकै आकर्षित गर्नेगरेको छ। ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा हाल जम्मा एक सयवटाभन्दा बढी जङ्गली पाण्डाले जीवन बिताइरहेका छन। ती पाण्डाहरुमध्ये केही खेलिरहेका हुन्छन भने केही ढुङ्गामा सुतिरहेका हुन्छन, अनि केही रुखमा चढिरहेका हुन्छन। कति रमाइलो र रोचक दृश्य, हगी?

            ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रको दृश्य निकै रमणीय र मौसम ज्यादै आनन्ददायक भएकाले त्यो स्थान पाण्डाको जीवनका लागि एकदमै अनुकुल छ। अमेरिकी नागरिक श्रीमती रेबेका हासेले पाण्डाले खाएको, खेलेको र रुख चढेको आदि रमाइला दृश्यसहितका चित्रहरु आफ्नो क्यामारामा अंकित गर्नुभएको छ। पहिलो पटक त्यति नजिकैबाट पाण्डालाई देख्नुपाएकोमा निकै हर्षित हुँदै उहाँ भन्नुहुन्छ:

            यहाँ आएर पाण्डासित घनिष्ट सम्पर्क राख्ने अवसर पाएकोमा मलाई एकदमै खुशी लागेको छ। ती पाण्डाहरु ज्यादै स्वस्थ छन, र चिट्टिक परेका छन। ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा अझ बढी पाण्डा थपिनसक्ने आशा पनि मैले गरेकी छु।

            ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा पाण्डाको बच्चा हुर्काउने एउटा आधुनिक प्रयोगशाला छ। वैज्ञानिकहरुले त्यस प्रयोगशालामा पाण्डाका बच्चा हुर्काउने गरेका छन। त्यस प्रयोगशालाका झ्यालबाट हेरेर पर्यटकहरु पाण्डाका बच्चा हुर्काउने तरिकाबारे जानकारी हासिल गर्नसक्छन। पाण्डाका ती बच्चाहरुको जीउ मान्छेको एउटा पंजा जति मात्र ठूलो हुन्छ। प्रयोगशालाअघि लामो समयसम्म उभिएका चीनको थाइवानका एकजना पर्यटक चाङ्ग श छाङ्गले प्रयोगशालाको झ्यालबाट हेरेर पाण्डाका बच्चालाई दूध खुवाउने तरिकाको ध्यानपूर्वक अवलोकन गर्नुभयो। उहाँ भन्नुहुन्छ:

              यस पटकको चीन भ्रमण अवधिमा मैले पाण्डाका बारेमा निकै बढी ज्ञान हासिल गरेको छु। पाण्डाको इतिहास सम्बन्धी केही रोचक कथा र पाण्डाको जीवनको वातावरण आदि विषयबारे हाम्रा पथ-प्रदर्शकले मलाई स्पष्ट रुपमा जानकारी दिनुभएको छ। अहिलेआएर मैले पाण‍डाका लागि बच्चा जन्माउनु कति गाहारो छ भन्ने कुरा राम्रोसँग थाहा पाइसकेको छु। अनि पाण्डाहरुमा आफ्नो बच्चा हुर्काउने क्षमता पनि ज्यादै कम हुँदोरहेछ।

              प्राप्त जानकारी अनुसार, पाण्डाका बच्चाको मृत्यु दर एकदमै उच्च छ। ती बच्चा-पाण्डाहरुमध्ये केही रोगका कारण त केही आफ्नी आमाको दूध खाँदा थाहै नपाइकन आमाले किचेर मर्नेगरेका छन। एउटा पाण्डाले धेरै बच्चा जन्माए पनि एउटै बच्चा मात्र हुर्काउनसक्ने क्षमता उनिहरुमा हुन्छ। त्यसो भएको हुनाले, प्रयोगशालाका कर्मचारीहरुले बाँकी बच्चाहरु वा रोग लागेका बच्चाहरुलाई वैज्ञानिक प्रविधिमार्फत हुर्काउनेगरेका छन। यसबाट पाण्डाका बच्चाको मृत्यु दरलाई घटाउन सम्भव भएको छ।

             पाण्डालाई निकै मन पराएका कारण ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा गएर स्वयंसेवक बन्ने व्यक्तिको संख्या झन-झन बढ्दैगएको देखिन्छ। जापानका नागरिक श्रीमती कोतामा मितोरी पनि त्यस्ता स्वयंसेवकहरुमध्येकी एक हुनुहुन्छ। उहाँ र उहाँका तीनजना साथीले ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा गएर पाण्डासँगै एक हप्ता बिताउने कार्यक्रम बनाउनुभएको छ। उहाँ भन्नुहुन्छ:

             हरेक विहान म पाण्डालाई खुवाउँछु भने मध्यान्ह तथा राति पाण्डा बस्ने कोठा सफा गर्छु। यसअघि पाण्डासित यति नजिक हुनसक्ने आशा मैले कहिल्यै पनि गरेकी थिइन। तर अहिलेआएर मेरो इच्छा पूरा भएकोमा म एकदमै हर्षित छु।

             ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा विभिन्न ऋतुमा पाण्डा हुर्कने भिन्नाभिन्नै प्रक्रियाको अवलोकन गर्न सकिन्छ। पाण्डाको अनुसन्धानमा संलग्न विशेषज्ञ ली दका अनुसार, ग्रीष्म ऋतुमा त्यहाँको मौसम निकै शीतल हुनेभएकाले त्यो पाण्डाको हुर्काइका लागि ज्यादै अनुकुल हुन्छ। शरद ऋतुमा त्यहाँ पुग्ने पर्यटकहरुले पाण्डाले बच्चा जन्माएको देख्न सक्छन।

             श्रोताहरु, अहिले तपाईंहरुले सुनिरहनुभएको आवाज पाण्डाहरु कराएको आवाज हो। ओ लोङ्ग प्राकृतिक संरक्षण क्षेत्रमा हाल एक सयवटाभन्दा बढी जङ्गली पाण्डा छन जुन विश्वका जङ्गली पाण्डाको कुल संख्याको दश खण्डको एक खण्ड हो। पहिले सामान्य पर्यटकलाई जङ्गली पाण्डाको बसोबास क्षेत्रमा प्रवेश गर्न दिंइदैनथ्यो। केही समयअघि विशेष पर्यटकहरुका लागि त्यस संरक्षण क्षेत्रमा "जङ्गली पाण्डाको जीवन अवस्थाको अवलोकन" नामक अनुसन्धान कार्यक्रम शुरु गरिएको छ। त्यस कार्यक्रममा सहभागी विशेष पर्यटकहरुले डिजिटल अनुगमन प्रणालीमार्फत नजिकैबाट जङ्गली पाण्डाको वास्तविक जीवन-अवस्थाको अवलोकन गर्नसक्नुहुन्छ।

              श्रोताहरु, तपाईंहरुलाई पनि ओ लोङ्ग पुगेर पाण्डाको जीवन-अवस्थाको अवलोकन गर्ने अवसर मिलोस भन्ने हामी कामना गर्दछौं। कार्यक्रमको अन्त्यमा म आजका दुइवटा प्रश्न फेरि एकपल्ट दोहर्‍याउँछु। सुन्नोस् है! पहिलो प्रश्न: पाण्डाको जन्मथलो चीनको कुन प्रान्तमा पर्दछ? दोस्रो प्रश्न: ओ लोङ्ग नामक प्राकृतिक संरक्षण क्षेत्रमा जङ्गली पाण्डाको संख्या कति छ?

              हवस् त, श्रोताहरु, "चीनको स छ्वान: पाण्डाको जन्मथलो" ज्ञान-विज्ञान प्रतियोगिता अन्तर्गतको कार्यक्रम-श्रृंखला यहीं पूरा हुन्छ। तपाईंहरुले सक्रियताका साथ यस प्रतियोगितामा भाग लिनुहुने आशा हामीले गरेका छौं। सोधिएका प्रश्नहरुको जवाफ छिटोभन्दा छिटो पठाउनुहुन पनि हामी तपाईंहरुसँग अनुरोध गर्दछौं। यसका साथै आजको कार्यक्रम पनि यहीं पूरा हुन्छ, कार्यक्रमबाट म मेघालाई पनि विदा दिनुहोस्, नमस्ते।