प्रिय श्रोताहरु, चीनले अफ्रिकामा निर्माण गर्ने पहिलो आर्थिक र व्यापारिक सहयोग क्षेत्र अर्थात् जाम्बिया-चीन आर्थिक र व्यापारिक सहयोग क्षेत्र चार तारिखका दिन जाम्बियाको राजधानी लुसाकामा स्थापना गरिएको कुरा सार्वजनिक भएको छ । जाम्बियाको राजकीय भ्रमण गरिरहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र जाम्बियाका राष्ट्रपति वानावासाले संयुक्तरुपमा यस क्षेत्रको नामपाटी अनावरण गर्नुभयो । अब यसबारे हाम्रो रेडियोका विशेष सम्वाददाताको यो विवरण सुन्नुहोस् ।

जाम्बिया-चीन आर्थिक र व्यापारिक सहयोग क्षेत्र चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलनको सफलताको प्रितिविम्ब हो । यो सहयोग क्षेत्रको स्थापना गर्नु एक महत्वपूर्ण कुरा हो भने यसले चीन र अफ्रिकाबीचको आर्थिक र व्यापारिक सहयोगलाई नयाँ उचाइमा पुर्याउदै जाने कुराको एक प्रतीक पनि हो ।
सो सहयोग क्षेत्रको नामपाटी अनावरण समारोहमा बोल्दै राष्ट्राध्यक्ष हु चिन थाउले लामो समययता चीनले हार्दिक र मैत्रीपूर्ण, समानता र आपसी हित, एकता र सहयोग तथा संयुक्त विकासको सिद्धान्त अपनाएर सक्रियताकासाथ अफ्रिकी मुलुकहरुसित विभिन्न क्षेत्रमा सहयोग गर्दै चिनियाँ र अफ्रिकी जनताका लागि हित हुने काम गरेको छ भन्नुभयो ।
गत वर्षको नभेम्वर महिनामा आयोजित चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलनमा जाम्बिया-चीन आर्थिक र व्यापारिक क्षेत्रको स्थापना हुने कुरा बारे चर्चा गरिएको थियो । त्यस बेला चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आगामी तीन वर्षभित्र चीनले अफ्रिकी मुलुकहरुमा तीनदेखि पांच वटासम्म आर्थिक र व्यापारिक सहयोग क्षेत्रको स्थापना गर्ने कुरा सार्वजनिक गर्नुभएको थियो । जाम्बिया-चीन आर्थिक र व्यापारिक सहयोग क्षेत्र त्यस परियोजनाभित्रको पहिलो योजना हो । सन् 2010सम्म यस परियोजना पूरा भएपछि चीन र अरु देशका साठी वठा उद्योग-व्यवसायहरु भित्र्याउन असी करोड अमेरिकी डलरको लगानी गरिनेछ । यसबाट छ हजार जनाको लागि रोजगार उपलव्ध हुनेछ ।

यस आर्थिक र व्यापारिक क्षेत्रको स्थापना तथा चीन-अफ्रिका मित्रता बारे चर्चा गर्दै हु चिन थाउले भन्नुभयोः
चीन र अफ्रिकाबीचको परंपरागत मित्रतालाई सुदृढ गर्नुका साथै चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलनको सफलतालाई व्यवहारमा उतार्दै सहयोगका क्षेत्रहरुलाई विस्तृत गर्नु र साझा विकासलाई प्रबर्द्धन गर्नु नै मेरो यस पल्टको अफ्रिकाको भ्रमणको उद्देश्य हो ।
जाम्बिया बारे चर्चा गर्दा राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः
जाम्बिया दक्षिण अफ्रिकाको एक महत्वपूर्ण मुलुक हो र नयाँ चीनसित दौत्य सम्बन्धको स्थापना गर्ने त्यस क्षेत्रकै पहिलो मुलुक हो । हाल जाम्बियाको आर्थिक विकासमा राम्रो संकेत देखा परेको छ र लगानीको वातावरण पनि दिन प्रतिदिन व्यवस्थित हुंदै गएको छ । त्यस सहयोग क्षेत्रमा लगानी लगाउन र जाम्बियाको आर्थिक निर्माण र सामाजिक प्रगतिका लागि योगदान पुर्याउन् चीन सरकारले क्षमतायुक्त चिनियाँ कम्पनीहरुलाई प्रेरित गरेको छ ।

त्यस अवसरमा जाम्बियाका राष्ट्रपति वानावासाले त्यस क्षेत्रको स्थापनाको उच्च मूल्यांकन गर्दै भन्नुभयोः
जाम्बिया-चीन आर्थिक र व्यापारिक सहयोग क्षेत्रको स्थापनाबाट गत वर्ष चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले दिनुभएको वचनबद्धता प्रतिबिम्बित भएको छ । जाम्बियाका देशवासीहरु यस आर्थिक र व्यापारिक क्षेत्रबाट लाभान्वित हुने भएका छन् । अझ विशेष गरी रोजगारी, प्रविधि र जनशक्तिको श्रोत लगायतका क्षेत्रहरु लाभान्वित हुने भएका छन् । सहयोग क्षेत्रको स्थापनाले जाम्बियाली जनताको जीवनस्तर सुधार हुनुको साथै जाम्बियाको आर्थिक अवस्थामा पनि सुधार हुनेछ । सहयोग क्षेत्रमा उद्योग-व्यवसाय संचान गर्न चीनका अझ बढी उद्योगी-व्यवसायीहरु आउने हाम्रो आशा छ । त्यसबाट हामीले ज्ञान, प्रविधि र संचालनको अनुभव सिक्न पाउनेछौं । त्यसका अतिरिक्त चिनियाँ, विदेशी र घरेलु उद्योग-व्यवसायीहरुका लागि विकासको झन् बढी अवसर उपलव्ध गराउन सकिनेछ ।
|