
दुनियाँ नामको रेस्ट्रुराँमा जम्मा अठारजना सेवकहरु छन। तीमध्ये पाँचजना भान्छे छन। बारका एकजना सेवक नेपाली हुनुहुन्छ। अन्य सबै तिब्बती हुनुहुन्छ। तिब्बती सेवकहरुसँग राम्ररी आदान-प्रदान गर्नका लागि श्रीमती चेनेटले केही तिब्बती शब्दहरु सिक्नुभएको छ। तर भाषाका अतिरिक्त, खाद्य संस्कृतिबारे उहाँ र तिब्बती सेवकहरुको जानकारी पनि फरक-फरक छ। पहिले पश्चिमी खानाबारे ती तिब्बती सेवकहरुमा कुनै पनि जानकारी थिएन। त्यसैले श्रीमती चेनेटले आफ्ना सेवकहरुलाई यस बारेमा तालिम दिनुभएको थियो। यरबारे जानकारी दिंदै उहाँले भन्नुभयोः
"मैले तिब्बती सेवकहरुलाई पश्चिमी खाना खुवाएकी थिएँ। शुरुमा तिनीहरुले पश्चिमी खाना मन पराएनन। तर क्रमशः तिनीहरुले पश्चिमी खानाबारे जानकारी लिए र मन पराउनथाले।"
तिब्बत पुगेका विदेशी पर्यटकहरुको संख्यामा वृद्धि हुँदैआएको परिप्रेक्ष्यमा श्रीमती चेनेटको रेस्ट्रुराँको कारोबार पनि दिनप्रति दिन राम्रो हुँदैआएको देखिन्छ। यसका साथै धेरै स्थानीय तिब्बतीहरु पनि विदाका बेलामा दुनियाँ रेस्ट्रुराँ गएर खानेगरेका छन। तर सो रेस्ट्रुराँ खोलिएको अघिल्ला चार वर्षमा त्यहाँ जाने पाहुनाहरुमध्ये नब्बे प्रतिशतभन्दा बढी विदेशी पर्यटकहरु हुन्थे भने तिब्बतीहरुको संख्या दश प्रतिशत भन्दा पनि कम थियो। श्रीमती चेनेटले, ठट्टा गर्दै, सार्स रोगका कारण तिब्बती पाहुनाहरुलाई आफ्नो रेस्ट्रुराँमा पुर्याएको कुरा वताउनुभयो। उहाँले भन्नुभयोः

"अझ बढी तिब्बतीहरु हाम्रो रेस्ट्रुराँमा आउने आशा हामीले गरेका छौं। तर पहिले यहाँ आउने तिब्बतीहरुको संख्या निकै कम थियो। यसको कारणबारे हामीलाई पनि थाहा थिएन। सन 2003 मा चीनमा सार्स रोग देखापरेको थियो। तिनताका यहाँ आउने विदेशी पर्यटकहरुको संख्या घटेको थियो, तथापि स्थानीय तिब्बतीहरुको संख्या भने झन-झन बढ्दैगएको थियो। पहिले तपाईंहरु किन मेरो रेस्ट्रुराँमा आउनुभएन भनेर मैले ती तिब्बती पाहुनाहरुलाई सोधेँ। उहाँहरुको जवाफ थियोः पहिले धेरै विदेशीहरु यस रेस्ट्रुराँमा आउनेभएकाले तिनीहरुदेखि लाज लागेकाले नआएको।"
अब झन-झन बढी तिब्बतीहरुले श्रीमती चेनेटको रेस्ट्रुराँमा उपलव्ध खाने कुराहरु मन पराउनथालेका छन। अहिले उहाँको रेस्ट्रुराँमा आउने पाहुनाहरुमध्ये तिब्बतीहरुको संख्या तीस प्रतिशतभन्दा बढी पुगेको छ।

तिब्बतमा बसेर श्रीमती चेनेटमा क्रमशः परिवर्तन भएको देखिन्छ। कहिलेकाहीं उहाँ स्थानीय तिब्बतीहरुसँग चुम्ला खाँ गुम्बा अगाडि बसेर कुराकानी गर्नुहुन्छ भने कहिलेकाहीं एक-अर्काको घर पनि जाने क्रम शुरु भएको छ।
तिब्बत स्वर्ग जस्तै रमणीय भएको अनुभव गर्नुभएकी श्रीमती चेनेटले आफ्नो जीवन तिब्बतमै विताउने विचार गर्नुभएको छ।
|