नेपाली पर्यटन उद्योगमा तिब्बती बाछिटाको प्रतीक्षा
2024-07-11 18:48:06cri
Share with:

गत जुन ३ तारिख (जेठ २१ गते सोमबार) बेइजिङमा होटल संघ नेपाल र नेपाली दूताबासको संयुक्त आयोजनामा नेपालमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भयो। होटल संघ नेपालका अधिकांश पदाधिकारीसहित नेपालका विभिन्न क्षेत्रमा स्थापित होटलका प्रतिनिधिहरुले 'सेल्स मिसन' का रुपमा आफ्नो होटलका सेवा सुविधाका बारेमा चिनियाँ पर्यटन व्यवसायीलाई जानकारी दिने काम गरे।

मे २० तारिख (जेठ ७ गते सोमबार) पनि नाटाले नेपाली दूताबाससँग मिलेर बेइजिङमै यस्तै कार्यक्रम आयोजना गरेको थियो। दुवै कार्यक्रममा नेपाल पर्यटन बोर्ड पनि सहभागी थियो।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोरोना महामारीपछि नेपाली पर्यटन उद्योग जुर्मुराउन थालेको छ तर अपेक्षाकृत पर्यटकको आगमन अझै हुन सकेको छैन। सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले मात्रै पर्यटक आगमन बढेको छ। यही गतिले पर्यटक आगमन दर बढ्दै गइरहे आगामी आर्थिक वर्ष २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सक्दैन। सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिने क्रम वृद्धि भयो भने मात्र सरकारी लक्ष्य पूरा हुनेछ।

नेपालको पर्यटन उद्योगका लागि चिनियाँ पर्यटक आधारस्तम्भ हुन्। अफसिजनमा पनि नेपाली पर्यटन उद्योगलाई चिनियाँ पर्यटकले धान्दै आएका छन्। कोरोना महामारीपछि भरखर तङ्ग्रिदै गरेको पर्यटन उद्योगलाई अझै सशक्त बनाउनका लागि चीनमा यस पर्यटन प्रवर्द्धन गर्नु अपरिहार्य छ। तर चीनमा आयोजना हुने नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएका छैनन्।

अहिले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले कुनै आम सूचना अथवा विज्ञापनका आधारमा नेपाल रोजेका होइनन्। पहिले नेपाल भ्रमण गरेको चिनियाँ साथी, आफन्त अथवा नेपालमा व्यवसाय गर्ने चिनियाँको सूचनाका आधारमा उनीहरु नेपाल भ्रमणमा इच्छुक भएका हुन्। कतिपय चिनियाँ त नेपालमा बिहे गर्न पाइन्छ भनेर पनि जाने गर्छन्।

तसर्थ चिनियाँ पर्यटकलाई गुटमुटाउने आम सूचनाको अभाव अझै पनि देखिएको छ। नेपाल होटल संघ, नाटा, नेपाल पर्यटन बोर्डले गरेका कार्यक्रम अहिलेसम्म सामान्य औपचारिकता निर्वाह गर्ने खालका मात्र देखिएका छन्। नेपालको सौन्दर्य झल्कने लघुभिडियो चिनियाँ भाषामा बनाएर चिनियाँ आम सञ्चारमा व्यापक प्रचार गर्ने हो भने बल्ल नेपालमा चिनियाँ पर्यटकको बाढी लाग्छ। बिडम्बना अहिलेसम्म नेपालका न सरकारी न निजी कुनै पनि क्षेत्रले यस विषयमा गम्भीर चासो राखेको देखिँदैन।

विश्व पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा चिनियाँ पर्यटकले लिने गरेका छन्। हरेक वर्ष करोडौँको सङ्ख्यामा चिनियाँ पर्यटकहरु विदेश भ्रमणमा जाने गर्छन्। सीमा जोडिएको र स्थलमार्गबाट पनि भ्रमण गर्न सकिने भएकाले चिनियाँ पर्यटकका लागि नेपाल सहज र सस्तो गन्तव्य हुन सक्छ। चीनभन्दा धेरै टाढाका मुलुकले जसरी नेपालले चिनियाँ पर्यटकलाई आकर्षित गर्न नसक्नु सुखद कुरा होइन।

नेपालको नजिकै रहेको चीनको तिब्बत स्वायत्त प्रदेशमा घुम्न जाने पर्यटकको तीन प्रतिशत हिस्सा मात्र नेपाल तान्न सक्ने हो भने वर्षमा सरदर १५ लाख पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ।

पर्यटन उद्योगलाई व्यवस्थित र सेवामुखी बनाउँदा कसरी दीर्घकालीन फाइदा हुन्छ भन्ने कुराको दृष्टान्त तिब्बतमा देख्न सकिन्छ। नेपालभन्दा आठ गुणा ठूलो तिब्बतको मुख्य बाँच्ने आधार नै पर्यटन हो। पर्यटन उद्योगको विकासले नै तिब्बत यतिबेला चीनको सबैभन्दा धेरै आर्थिक वृद्धि हुने प्रान्त र सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको प्रान्तमा चिनिएको छ।

तिब्बतको पर्यटन अवस्थाको थोरै चर्चा गरौँ -

सन् २०२४ मे २३ तारिख अर्थात् २०८१ जेठ १० गते बेइजिङमा चिनियाँ राज्य परिषदले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। 'नयाँ युगमा तिब्बतको दीर्घकालीन सुरक्षा र उच्च गुणस्तरीय विकास' शीर्षकमा आयोजित उक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीले चीनको तिब्बत स्वायत्त प्रदेशको विकासका केही तथ्यहरु प्रस्तुत गरिएको थियो।

उक्त पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेश पार्टी समितिका उपसचिव तथा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष यान चिनहाईले चौधौँ पञ्चवर्षीय योजनादेखि तिब्बतको कुल गार्हस्थ्य उत्पादन १९० अर्ब युआनबाट बढेर २४० अर्ब युआन पुगेको बताए। तिब्बतमा प्रतिव्यक्ति वार्षिक आम्दानी ५२ हजार ३०० युआनबाट बढेर ६० हजार युआन पुगेको र शहरी तथा ग्रामीण बासिन्दाको प्रतिव्यक्ति डिस्पोजेबल आयको वृद्धिदर धेरै वर्षदेखि चीनकै अग्रस्थानमा रहेको जानकारी दिए।

तिब्बतमा गत वर्ष सन् २०२३ मा मात्र ५ करोड ५१ लाख ७० हजार स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरेका छन्। ती पर्यटकबाट तिब्बतले ६५ अर्ब १० करोड युआन राजस्व सङ्कलन गरेको छ। सन् २०२२ को तुलनामा सन् २०२३ मा तिब्बतमा पर्यटकको वृद्धि ८३.७ प्रतिशत रहेको छ भने पर्यटकबाट प्राप्त राजस्व ६० प्रतिशतले वृद्धि भएको छ। तिब्बतलाई समृद्ध बनाउने मुख्य उद्योग नै पर्यटन बनेको कुरा उनले बताए। यही गतिमा तिब्बतको अर्थतन्त्र चालु वर्ष सन् २०२४ मा दोहोरो अङ्कले वृद्धि हुने अनुमान गरिएको छ।

तिब्बतमा पर्यटकको वृद्धिदर कसरी उकालो लागेको छ भन्ने कुरालाई पछिल्ला ८ वर्षको आँकडा हेर्दा स्पष्ट हुन्छ। तेह्रौँ पञ्चवर्षीय योजना अवधिमा तिब्बतमा १५ करोड ८० लाख पर्यटकले भ्रमण गरेका थिए। यो सङख्या बाह्रौँ पञ्चवर्षीय योजना अवधिको तुलनामा २.३ गुणाले बढी थियो। चीनमा सन् २०१६ देखि सन् २०२० सम्म तेह्रौँ पञ्चवर्षीय योजना अवधि थियो। सन् २०२१ देखि सन् २०२५ सम्म चौधौँ पञ्चवर्षीय योजना अवधि रहेको छ।

सोही पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष स्यु चथाउले पर्यटनको विकासमा देखा परेका समस्या र अड्चनबारे सटिक व्याख्या गरे। उनका अनुसार, तिब्बतमा यातायात पूर्वाधार चीनका अन्य प्रान्तको तुलनामा त्यति सुविधाजनक छैन। तिब्बतको क्षेत्रफल विशाल भएको हुनाले एक पर्यटकीय स्थलबाट अर्को स्थलमा पुग्नका लागि निकै लामो दुरी छिचोल्नु पर्छ। जसले गर्दा यात्रामै समय र लागत बढी लाग्ने गर्छ। त्यसमाथि त्यहाँको भौगोलिक अवस्थाले पनि पर्यटकलाई चुनौति थपिदिने गर्छ। तिब्बतको सरदर उचाइ ४००० मिटरभन्दा बढी भएकाले त्यहाँ घुम्न जाने पर्यटकलाई 'लेक लाग्ने' अर्थात् अक्षांश समस्या हुन सक्छ। तसर्थ चिनियाँ तथा विदेशी पर्यटक तिब्बत घुम्नका लागि निकैबेर सोचेर मात्र निर्णय लिने गर्छन्।

यसको अर्थ के हो भने जोसुकै चिनियाँ अथवा विदेशी पर्यटक तुरुन्तै तिब्बत गइहाल्दैन। बरु उसले चीनकै अन्य भूभाग जानसक्छ। यसले गर्दा जति पर्यटक तिब्बत पुग्नु पर्ने हो त्यसमा पनि छाँटिएर मात्र पुग्ने गर्छन्।

तिब्बतले कसरी यस्तो विधि पर्यटकलाई आकर्षित गर्न सक्यो भन्ने बारेमा केही आधारहरु प्रस्तुत गरिएको छ। तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष स्युले पत्रकार सम्मेलनमा भने- तिब्बतले पर्यटनको विकास सम्बन्धी योजना बनाएर चिनियाँ सांस्कृतिक पहिचानयोग्य, पर्यावरणीय सभ्यताको संरक्षण र विश्वस्तरीय पर्यटन क्षेत्रको निर्माण गरेको छ। त्यसैगरी संस्कृति र पर्यटन सम्मिलित तिब्बती जटीबुटी, पठारभूमा ट्रेकिङ लगायत विशेषतायुक्त पर्यटन विकास गरिएको छ। वैदेशिक खुलापनलाई तीब्र पारेर तिब्बतमा प्रवेश गर्ने विदेशी पर्यटकहरुलाई प्रवेश प्रक्रियालाई सुधार गर्ने, अनुवाद तथा भुक्तानीलाई सहज बनाउने कामले अझै बढी विदेशी पर्यटक तिब्बत घुम्न आकर्षित भएका छन्। पर्यटन सेवाको गुणस्तरलाई उकासेर अझ बढी प्रत्यक्ष वायु सेवा सञ्चालन गर्नुका साथै अझ बढी लगानीलाई आकर्षण गरिएको छ।

तिब्बतको समृद्धिको आधार र तिब्बतलाई काँचुली फेर्ने मुख्य उद्योगका रुपमा रहेको पर्यटन विकासमा चीनले अत्यन्त महत्वाकांक्षी योजनाहरु अगाडि सारेको छ।

तिब्बतले उच्चस्तरीय पर्यटन प्रवर्द्धन कार्यक्रमलाई अगाडि ल्याउँदैछ। तिब्बती सांस्कृतिक पर्यटन उद्योगको विकास योजना सुरु गर्ने योजना बनाएको छ र यसले धेरै वर्षदेखि चिनियाँ संस्कृतिको प्रतिष्ठित र राष्ट्रिय पारिस्थितिक सभ्यताको उच्च भूमिको प्रतिनिधित्व गर्ने सांस्कृतिक पर्यटन कोरिडोर र विश्वस्तरीय पर्यटकीय स्थलहरू निर्माण गर्ने योजना बनाएको छ।

तिब्बती पर्यटनको चर्को समस्या भनेको यो क्षेत्रमा भ्रमण गर्नका लागि चिनियाँ प्रशासनको झन्झटिलो नीति। चीन भ्रमणमा आएका पर्यटक सहज रुपमा तिब्बत प्रवेश गर्न सक्दैनन्। त्यहाँ पुग्न थप अनुमति आवश्यक पर्छ। अब तिब्बतले बाहिरी संसारमा जोडिने गतिलाई तीब्र बनाएर थप खुला हुने नीति अगाडि सार्दैछ। यसका लागि तिब्बत प्रवेशका लागि सान्दर्भिक प्रक्रियाहरूको प्रभावकारितामा सुधार र एकै साथ भाषा अनुवाद र भुक्तानी सुविधा जस्ता समस्याहरू समाधान गर्न आवश्यक छ। यस्ता सुधारले थप अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित हुन्छन्।

यसैगरी तिब्बतले गुणस्तरीय सेवाको सुधार गर्ने घोषणा गरेको छ। तिब्बत स्वायत्त प्रदेशले मुख्य भूमिका शहरहरू र अन्तर्राष्ट्रिय बजारहरूका लागि थप सिधा मार्गहरू खोल्ने, तिब्बती सांस्कृतिक पर्यटन बजारमा प्रवेश गर्न थप लगानीकर्ता कम्पनीहरूलाई आकर्षित गर्ने, पठार तथा हिमाली क्षेत्रको उद्धार सम्पर्क संयन्त्रलाई सुधार गर्ने, सांस्कृतिक पर्यटन बजारको सुपरिवेक्षणलाई सुदृढ गर्ने र पर्यटकहरूलाई थप सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ।

गत वर्ष सन् २०२३ मा तिब्बतको कुल ग्राहस्थ उत्पादन लगभग २ खर्ब ४० अर्ब युआन थियो। यो सन् २०२२ को भन्दा ९.५ प्रतिशतले बढेको हो। तिबब्तको कुल वित्तीय स्रोत ३ खर्ब ८० अर्ब युआन पुग्दा तिब्बतमा बसोबास गर्ने नागरिकको प्रतिव्यक्ति वित्तीय स्रोत चीनमा पहिलो स्थानमा छ।

तिब्बतको अर्थतन्त्र कति चलायमान र सक्रिय छ भन्ने कुराको पुष्टि केही तथ्याङ्कले गर्दछ। उदाहरणका लागि गत वर्ष तिब्बतमा उपभोग्य वस्तुहरूको कुल खुद्रा बिक्रीदर २१ प्रतिशतले बढेर चीनको पहिलो स्थानमा रह्यो। गत मे महिनाको सुरुको सुनौलो सप्ताह अन्तर्गतको पाँच दिने बिदामा मात्र ल्हासामा ८ करोड युआन बराबरका ५ सय ९१ वटा कार बिक्री भए।

नेपालको उत्तरी १४१४ किलोमिटरभन्दा बढी सीमा चीनको तित्बतसँग जोडिन्छ। नेपाल र तिब्बत जोड्ने सिधा हवाइ सेवा र स्थल मार्ग पनि सञ्चालित छन्। अधिकांश तिब्बतीले बौद्ध धर्म अँगालेका छन्। तिब्बतका प्राय सांस्कृतिक सम्पदाहरु बौद्ध धर्मसँग सम्बन्धित छन्। त्यहाँ पुगेर बौद्ध धर्मका सांस्कृतिक सम्पदामा रमाएका पर्यटकलाई एकपटक लुम्बिनी पुग्ने रहर पक्कै हुनसक्छ। तिब्बत पुग्ने विदेशी तथा चिनियाँ पर्यटकलाई लोभ्याउने कुनै प्रभावकारी कार्यक्रम अहिलेसम्म नेपालले गरेको थाहा छैन।

आज तिब्बतको समृद्धि र विकास पर्यटनबाटै सम्भव भएको हो। कुनै बेला पशुपालनमा घुमन्ते जीवन जिउने तिब्बतीहरु यतिबेला चीनकै धेरै आर्थिक वृद्धि हुने नागरिकमा पुग्नुको पछाडिको एक मात्र कारण पर्यटन उद्योग हो। पर्यटन उद्योगबाट तिब्बतले यस्तो छलाङ मार्न सक्छ भने नेपालले नसक्ने भन्ने प्रश्नै उठ्दैन। तसर्थ तिब्बतको पर्यटकीय विकासका केही बाछिटा मात्र नेपालमा पर्ने हो भने पनि नेपाली पर्यटन क्षेत्रको कायापलट हुने कुरामा कसैको दुई मत हुन सक्दैन।

चेतनाथ आचार्य

साभारः सेतोपाटी अनलाइन (२०२४ जुलाई ११)