चमत्कारी चिनियाँ चिया
2024-08-27 09:07:01cri
Share with:

--------चेतनाथ आचार्य


 ·       पाँच हजार वर्ष अगाडि चिया आविष्कार गर्ने मुलुक चीन।

·       विश्वमा सबैभन्दा धेरै चिया उत्पादन गर्ने र सबैभन्दा धेरै चिया उपभोग गर्ने मुलुक चीन।

·       चीनमा उपहार आदानप्रदानमा सबैभन्दा लोकप्रिय बस्तु चिया।

·       बिहेका दिन चिनियाँ बेहुलाबेहुलीले चिया बनाएर साइनो साट्ने चलन।

·       चीनमा पाइने विश्वको सबैभन्दा महङ्गो चिया 'ता होङ पाओ'को मूल्य प्रतिकिलो १२ लाख अमेरिकी डलर।

·       सन् १८६३ मा चिनियाँ सम्राट थोङचीले नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई चियाको बिउ दिएर चिया कूटनीति सुरु। सन् १९७२ मा माओ चतोङले अमेरिकी तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनलाई चिया उपहार दिएर चिया कूटनीतिलाई निरन्तरता।

·       चीनमा चियाका रुपमा विभिन्न फूल र अन्य वनस्पति पनि प्रयोग।

  उल्लिखित केही बुँदाहरु चिनियाँ चिया महिमाका आँखीझ्याल हुन्।

  इलाममा जन्मिएको यो स्तम्भकार शिशुकालदेखि चिया खाँदै, चिया बगानमा लुकिचोरी गर्दै, चियाका मुन्टा चपाउँदै हुर्किएको हो। चियाका बारेमा धेरथोर जानकारी भएको गफ पनि लगाएकै हो। तर, जब चीनमा आएर बजारमा चिया देख्न थालेँ तब तिरिमिरी झ्याइँ हुन थालेको छु। सबै प्रकारका फूलहरु चियाका रुपमा प्रयोग। सयपत्री, गुराँस, मखमली, गोदावरी, चमेली, गुलाव अनि नाम थाहा नभएका सबै फूलहरु। त्यति मात्र होइन कागती, सुन्तला, ज्यामिर, भोगटे, अम्बा जस्ता फलहरुलाई चाना पारेर सुकाएपछि चियाका रुपमा प्रयोग गरिने पनि देखियो। चियाको मूल्य पनि उस्तै। नेपाली बजारमा पाउने जस्तै सस्तो मूल्यदेखि करोडौँ मूल्यसम्मका चिया।

  मूल्य, प्रकार, खाने तरिका आदि कुराले चिनियाँ चियाले गैर चिनियाँलाई नराम्ररी झुक्याउँछ। त्यसो त चियाको आविष्कार पनि झुक्किएर नै भएको हो। इसापूर्व २७३२ मा चिनियाँ बादशाह शन नुङ सिकार खेल्नका लागि जङ्गलमा गएका थिए। थकाइले लस्त भएर सुतिरहेका बादशाहलाई उनका सहयोगीले तातोपानी ट्वाक्रामा राखेर पिउन दिए। पानी पिएपछि बादशाहमा अचम्मको फुर्ती र जोश आयो। पानी पिइसकेपछि ट्वाक्रामा हेर्दा कुनै वनस्पतिको पात थियो। ट्वाक्रामा पानी खन्याउँदै गर्दा नजिकैबाट उडेर आएर पानीमा उक्त पात पसेको कसैले थाहै पाएनन्। त्यही पातले गर्दा शरीरमा फुर्ती दिएको थियो। बादशाहले सधैँ तातोपानीमा उक्त वनस्पतिको पात भिजाएर पिउन थाले। त्यो वनस्पति अरु केही नभएर चिया थियो।

  चियाको आविष्कार गरेको चीनले पाँच हजार वर्षदेखि चिया पिउँदै/पियाउँदै आएको छ। चीन विश्वकै सबैभन्दा धेरै चिया उपात्दन गर्ने र उपभोग गर्ने मुलुकमा पर्छ। त्यसैले त चिनियाँ आफ्ना साथीहरुलाई उपहार दिनुपरेमा चिया नै रोज्ने गर्छन्। नेपालबाट चीन भ्रमणमा जाने उच्च पदस्थ व्यक्तिहरुलाई पनि चिनियाँ नेताहरुले चिया उपहार दिएका उदाहरण थुप्रै छन्। एक प्रकारले भन्ने हो भने चीनले चिया कूटनीतिलाई अँगालिरहेको छ।

  सन् १८६३ मा तत्कालीन छिङ वंशका चिनियाँ सम्राट थोङचीले नेपालका तत्ककालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई चियाको बिऊ उपहार दिएर आपसी सम्बन्धलाई प्रगाढ बनाउन थालनी गरेका थिए। जङ्गबहादुरले त्यो चियाको बिऊ आफ्ना ज्वाइँ गजराज सिंह थापालाई दिएर उपयुक्त ठाउँमा खेती गर्न आदेश दिए। गजराज थापा इलामका बडाहाकिम भएको बेला उक्त बिऊ इलाममा रोप्न लगाए।

  सन् १९७२ को फेब्रुअरी २१ देखि २८ सम्म अमेरिकी तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले चीनको भ्रमण गरेका थिए। विश्व राजनीतिक मञ्चमा चीनको उदय, चीनअमेरिका सम्बन्ध लगायत थुप्रै विषयमा यो भ्रमण ऐतिहासिक कोशेढुङ्गा मानिन्छ। उक्त भ्रमणमा रिचार्ड निक्सनलाई चिनियाँ नेता माओ चतोङले दिएको उपहार निकै चर्चित बन्यो।

   रिचार्डलाई स्वागत गर्दै माओले एउटा आकर्षक बक्स उपहार दिएका थिए। चीनमा कम्युनिष्टले सत्ता लिएपछि पहिलोपटक अमेरिकी राष्ट्रपतिको भ्रमणमा चिया उपहार देखेर अमेरिकीहरु रिसाए। अमेरिकी राष्ट्रपतिको अपमान गरेको र उपहारका नाममा व्यङ्ग्य गरेको पनि भनियो। राष्ट्रपति रिचार्ड स्वयंले असन्तोष व्यक्त गरे।

   अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलमा माओको उपहारले असन्तोष पैदा गराएको थाहा पाएपछि तत्कालीन चिनियाँ प्रधानमन्त्री चौ एनलाईले राष्ट्रपति रिचार्डलाई भने 'बक्समा भएको चिया चीनमा आपूर्ति हुने सम्पूर्ण मात्राको आधा परिमाण मात्र नभएर यो २ लाख अमेरिकी डलर पर्ने बहुमूल्य उत्पादन पनि हो।' अहिलेको मूल्यमा भन्ने हो भने माओले रिचार्ड निक्सनलाई दिएको चियाको मूल्य १५ लाख अमेरिकी डलरभन्दा बढीको थियो।

   चियाको परिमाण त्यत्रो बिधि थिएन तर उक्त चिया अत्यन्त महङ्गो पर्थ्यो। माओले रिचार्डलाई उपहारमा दिएको चियालाई चिनियाँ भाषामा 'ता होङ पाओ' भनिन्छ। चीनको दक्षिण पूर्वी प्रान्त फुचियानको ऊयी पहाडमा मात्र हुने ओलङ चियालाई नै ता होङ पाओ भन्छन् चिनियाँहरु। यसलाई चियाको राजा पनि भनिन्छ।

  ऊयी पर्वतका चट्टानका कापमा उम्रिएको चिया वर्षको एकपटक मात्र टिपिन्छ। न्युन उत्पादन र गुणस्तरका कारण यो चिया सुनभन्दा दसौँ गुणा महङ्गो पर्ने र विशेषगरी उच्च चिनियाँ नेताले उच्च विदेशी पाहुनालाई उपहारमा खपत हुन्छ।

  क्यामेलियज् वेभसाइटका अनुसार अहिले यो चियाको मूल्य एक किलोको १२ लाख अमेरिकी डलर पर्छ। अर्थत् यो सुनभन्दा १० गुणाभन्दा बढी महङ्गो छ।

  चियाका बारेमा चीनमा विश्व विद्यालय छन्। चिया सङ्ग्रहालयदेखि चिया महोत्सव, चिया प्रदर्शनी, चिया चाख्ने समारोह, चिया कला प्रदर्शनी सबै कुरा चीनमै पाइन्छ।

चीनमा चियासँग सांस्कृतिक साइनो पनि रहेछ। चिया नभइकन चिनियाँहरुको बिहे नै हुँदैन। बिहेका दिन बेहुलीले बेहुलाका बुबा र आमालाई चिया बनाएर खान दिँदै ‘अबदेखि आमाबुबा भन्छु’ भनेर अनुमति माग्नुपर्छ। त्यसैगरी बेहुलाले पनि चिया बनाएर बेहुलीका आमाबुबालाई दिँदै त्यसैगरी साइनो साट्नुपर्छ।

पाँच हजार वर्षको इतिहास बोकेको चिनियाँ चियामा दुई दशकदेखि अर्को चिया थपिएको छ। ‘भाइन चिया’ भनिने यो नयाँ चियालाई चमत्कारी चिया भने पनि हुन्छ।

सन् २०२४ को जुलाई ९ तारिख अन्तर्राष्ट्रिय कृषि सहयोग प्रवर्द्धनका लागि चिनियाँ संघको चिया उद्योग समितिबाट एउटा निमन्त्रणा प्राप्त भयो। निमन्त्रणा अगष्ट १ देखि ३ सम्म चीनको हुपेइ प्रान्तको लाइफङ काउन्टीमा आयोजना हुने ‘दोस्रो अन्तर्राष्ट्रिय भाइन चिया सम्मेलन’मा सहभागी हुनका लागि थियो।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई पनि निमन्त्रणा गरिएको रहेछ। बेइजिङको तासिङ विमानस्थलमा राजदूत श्रेष्ठसँग भेट भएपछि हामी एउटै विमानका सहयात्री भयौँ। हुपेइ प्रान्तको पश्चिम दक्षिणमा रहेको लाइफङमा पुगेपछि सोही साँझ नेपालबाट सम्मेलनमा सहभागी हुन आएका राजु शेर्मा लिम्बु र उनकी श्रीमती रत्न शेर्मा लिम्बुसँग भेट भयो।

दुई दशकदेखि चिया व्यवसायमा सहभागी हुँदै आएका शेर्मा दम्पत्ति पाँचथर निवासी हुन्। उनीहरुलाई नेपालमा कुन गाउँमा कति चिया उत्पादन हुन्छ, कुन ठाउँमा कुन गुणस्तरको चिया पाइन्छ जस्ता कुराहरु मुखाग्र छ। चियाँ खेतीमा नेपाली साना किसानहरुले भोगिरहेका समस्या, चिया खेतीमा सरकारले गरेको बेवास्ता लगायत नेपालमा उत्पादित चियाको बजार व्यवस्थामा देखिएका अड्चनका बारेमा त उनीहरु पितृ बुझाउँछन्। राजु शेर्मा लिम्बु ‘नेपाल विशेष चियाँ संघ’का अध्यक्ष हुन् भने रत्न ‘पूर्वी नेपाल चिया प्रशोधन कम्पनी’की महाप्रबन्धक।

उक्त चिया सम्मेलनमा अमेरिका, इटली, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, फ्रान्स, इटली, भियतनाम र डेनमार्कका प्रतिनिधिहरु पनि थिए।

हामी नेपाली जस्तै सबै विदेशी प्रतिनिधिहरु भाइन चियाका बारेमा अनविज्ञ थियौँ। अगष्ट १ तारिख बेलुका रात्रिभोजपछि हामीलाई भाइन चिया चाख्ने महोत्सव अर्थात् ‘भाइन टी टेस्टिङ सेरेमोनी’ मा सहभागी गराइयो।

स्थानीय थुचिया अल्पसङ्ख्यक चिनियाँ युवतीहरु परम्परागत पोशाकमा हामी बसेकै टेबुल टेबुलमा आएर चिया बनाउँदै चखाउन थाले। चियाको स्वाद त अन्य ग्रिट टीजस्तै थियो। तर चिया सुरुप्प पारेर पानी पिउँदा चाहिँ पानीको स्वाद अलिक फरक। अमला खाएर पानी खाएजस्तो लाग्ने। राजु र रत्नसँगैको टेबुलमा थिएँ म। मैले यो भाइन टीको बोट चाहिँ कस्तो हुन्छ कुनै भिडियो छ कि भनेर चिनियाँलाई सोधेँ। राजु र रत्न पनि यही कुराको जिज्ञासामा रहेछन्। हामीलाई फोटो र भिडियोसँगै भाइन चियाको केही ओइलाइएका मुना पनि ल्याएर प्रत्यक्ष देखाइयो।

ती ओइल्याइएका मुना हेरेपछि मैले भनेँ ‘यो त हाम्रोतिर पाइने चिन्डे जस्तै रहेछ।’ राजु र रत्नले पनि त्यही बताए। इलामका गाउँमा एक प्रकारको अग्लो रुखका कलिला मुना टिपेर अचार र तरकारी खाइने वनस्पतिलाई चिन्डे भनिन्छ। हामीले ओइल्याएका भाइन चियाका मुनाहरु चिन्डेका कपना जस्तै देख्यौँ।

भोलिपल्ट दोस्रो अन्तर्राष्ट्रिय भाइन चिया सम्मेलनको मुख्य सत्रमा गइयो। त्यहाँ चियाका विशेषज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरे।

कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत चिनियाँ कृषि विश्व विद्यालयका प्रोफेसर छ्याओ शियान, चच्याङ विश्वविद्यालयकी प्रोफेसर डा थु यौयिङ, चिनियाँ विज्ञान प्रतिष्ठानको औषधीय वनस्पति विभागका अनुसन्धान कर्ता डा सु लिचिया जस्ता व्यक्तिले भाइन चियाका बारेमा विभिन्न तथ्यगत कुराहरु राखे। त्यहाँ प्रस्तुत भए अनुसार यो चिया उच्च रक्तचाप, चिनीरोग, कोलास्टोर, मुटु रोग, मृगौला रोग जस्ता विभिन्न समस्या भएका व्यक्तिका लागि लाभदायक भएको प्रयोगशालाबाट पुष्टि भएको व्याख्या गरे।

चिनियाँ विज्ञमात्र होइन अमेरिकी र युरोपेली विज्ञले पनि भाइन चियाका बारेमा प्रस्तुत गरेको कुराले यो चियालाई चमत्कारी मान्नुपर्छ भन्ने कुरामा हामी नेपालीहरु सहमत भयौँ। तर अझै पनि हामीले प्रत्यक्ष रुपमा भाइन चियाको बोट कस्तो हुन्छ र कसरी प्रशोधन गरिन्छ भन्ने कुरा थाहा पाएका थिएनौँ। आयोजकले अगष्ट ३ तारिख हामीलाई भाइन चिया बगान घुमाउने र प्रशोधन केन्द्र पनि देखाउने बताएपछि हामीभित्रको कौतूहल अझ बढ्न थाल्यो।

अगष्ट ३ तारिख हामीलाई भाइन चियाको बगान घुमाउन लगियो। ओहो भाइन चिया त लहरा जस्तो पो हुँदोरहेछ। चीनको हुपेई प्रान्तको लाइफङमा मात्र हुने भएकाले लाइफङलाई भाइन चियाको राजधानी भनिँदोरहेछ। चिनियाँ भाषामा ‘थङछा’ भनिने भाइन चिया एम्पेलोप्सिस बनस्पतिको मुन्टाबाट बनाइँदोरहेछ। चियाका दुई पात एक सुइरो टिपे जस्तै यसका कलिला मुन्टा टिपेर उही तरिकाले प्रशोधन गरिँदोरहेछ। यो चियालाई चीनले सन् २०१३ मा राष्ट्रिय भौगोलिक सूचक उत्पादनका रूपमा मान्यता दिइएको रहेछ।

भाइन चियाबारी घुमेपछि हामी चिया प्रशोधन उद्योगमा गयौँ। चिया प्रशोधन बिधि र तरिका इलाममा अर्थोडक्स चिया प्रशोधन गरेजस्तै थियो। तर भाइन चियाबाट चिया मात्र नभएर अन्य थुप्रै उपभोग्य वस्तु बनाइने रहेछ। यसैबाट रक्सी, बियर, चाउचाउ, टुथपेष्ट, साबुन, क्रिम, केक, क्यान्डी, स्याम्पु, पर्फ्युम, जुस अनि कफी। मैले कफी चाखेँ। कफी त चियाजस्तो नभएर पूरै कफीकै स्वादमा छ। हन, चियाबाट कफी चाहिँ कसरी भयो ! पेय पदार्थका हिसाबले चिया र कफी सगोत्री भए पनि यिनीहरु फरक परिवारका हुन्। वनस्पति फरक, स्वाद फरक, प्रशोधन फरक, असर फरक अनि पारख पनि फरक। तर चिनियाँले अब चियाबाटै कफी पनि बनाएपछि चाहिँ यसलाई चिनियाँको चमत्कार भन्ने कि चमत्कारी चिया?

हजारौँ वर्षदेखि औषधीय वसनस्पतिका रुपमा प्रयोग हुँदै आएको भाइनलाई चियाका रुपमा आधुनिक उत्पादन र प्रयोग गर्न थालिएको दुई दशक मात्र भएको रहेछ। सन् २००३ देखि आधुनिक भाइन चिया विकास गरेको चीनले अहिले यही विषयलाई लिएर विभिन्न खोज अनुसन्धानसँगै सरकारले ठूलो लगानी गरेर नयाँ कृषि उपजका रुपमा विकास गरेको छ।

चमत्कारी चिया अर्थात भाइन टीको अवलोकन गरिसकेपछि राजुजीले यसको विरुवा नेपाल लाने बिचार व्यक्त गरे। यसको डाँठलाई जमिनमा गाडेपछि पलाउने र त्यसैबाट नर्सरी गरेर अरु फैल्याउन सकिने आयोजकले बताएपछि केही डाँठहरु राजुजीले झोलामा बोके। अहिले उनले ललितपुरको कुसुन्तीस्थित आफ्नो निवासमा गमलामा भाइन चियाका डाँठ गाडेका छन्। वीच्याटमा फोटो पठाएर उनी भन्दै थिए ‘अब यो उम्रिएपछि पाँचथरमा लगेर नर्सरी राख्ने हो र यसलाई प्रयोगका रुपमा खेती गर्ने हो।’

मैले उनलाई जिस्क्याउँदै भनेँ ‘सन् १८६३ मा चिनियाँ बादशाह थोङचीले जङ्ग बहादुर राणालाई दिएको चियाको बिउ गजराज थापाले इलाम पुर्याएका थिए। अब भाइन टी चाहिँ राजु लुङ्गाले पाँचथर पुर्याउने।’ मेरो कुरा सुनेर उनी धक फुकाएर हाँसे।

 

साभारः सेतोपाटी अनलाइन (२०२४ अगष्ट २४)