फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिम्रिक एयरलाइन्सका क्याप्टेन सिद्धार्थको आँखामा भूकम्प त्रासदी

(GMT+08:00) 2015-04-26 10:43:41

सिम्रिक एयरलाइन्सका क्याप्टेन सिद्धार्थको भूकम्प त्रासदीबारेको एक विवरणः

घरहरु गर्ल्यामगुर्लुम ढलेको मात्रै देखियो। भूकम्प आउने बित्तिकै विमानस्थलको टावरमा कोही पनि थिएनन्। त्यसैले खतरा मोलेर क्या. सिद्धार्थ र म हेलिकप्टरमा उड्यौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै सुरुमा हामी भक्तपुरको आकाशमा पुग्यौं। भक्तपुरमा पुराना माटोले बनाइएका घरहरु गर्ल्यामगुर्लुम ढल्दै गरेको देखियो। कति घरको छाना भत्केको, केहीको जगैदेखि भत्किएर माथिल्ला तल्लाहरु थचक्क बसेको देख्यौं। घरहरु भत्किएर जताततै धूलो उडेको देखिन्थ्यो। मान्छेहरु यताउता भागदौड गरिरहेका थिए। खाली ठाउँमा भेला हुने क्रम पनि बढिरहेको थियो। केही भत्केका भग्नावशेषमा चढेर कोही पुरिएका छन् कि भनी खोजिरहेका थिए। भक्तपुरपछि ललितपुर गयौं। त्यहाँ पनि पुराना घरहरु भत्कँदै गरेको पाइयो। मंगलबारस्थित पाटन दरबार क्षेत्रका मन्दिरहरु भत्किँदै गरेको थियो। छानाहरु घरमै थचक्क बसेका थिए। ललितपुरपछि काठमाडौंको आकाशमा आउँदा धरहरा ढलिसहेको थियो। टुँडिखेलमा मान्छेहरु भेला हुने क्रममा थिए। बाटोभरि गाडी जाम भएको थियो। बसन्तपुरमा दरबारहरु भत्कँदै गरेको समेत देखियो। धापासीको आकामशमा पुग्दा त्यहाँस्थित अपार्टमेन्टका भवनहरु चरक्क चर्किएका देखिए। स्वयम्भूमा रहेको गुम्बा भत्किँदै थियो। त्यस्तै काभ्रेको पनौतीमाथिको आकाशमा जाँदा पनि माटोका अधिकांश घर भत्केका देखिए। नभत्केका घरका पनि छाना थिएनन् । यसपछि रसुवाको लांगटांग क्षेत्रमा उद्दारमा लागि गयौं। जाँदाजाँदै पहिरो आएर त्रिशुली नदीका ठाउँ ठाउँमा मुख थुनिएको थियो। त्रिशुलीबाट धुन्चे जाने बाटोको ठाउँमा ठाउँमा पनि भत्केको पाइयो। रसुवाको स्याफ्रुवेसीबाट घोडा तबेला जाने क्रममा बीचमा केही गाउँ पहिरोले बगाएको, केही गाउँ पहिरोले पुरिएर मरुभूमि जस्तो देखियो। नांगा डाँडामा मान्छेहरु यताउता गर्दै हामीलाई देखेर बचाउ बचाउ भन्दै हात हल्लाइरहेका थिए। तर हामीले उद्दार गर्न सकिने अवस्था थिएन। खराब मौसमका कारण हामी उद्दार गर्न गएको ठाउँसम्म पुग्न सकेनौं। लांगटांग गाउँ पुरै पुरिएको थियो। लांगटांग राष्ट्यि निकुञ्जभित्र रुख ढलेर सम्मै थियो। रसुवाबाट त्रिशुली नदी हुँदै फर्कंदा पनि नदीका दायाँबायाँ भएका सबै गाउँका घर भत्केका थिए। मान्छेहरु अलपत्र परिरहेका थिए। हामीले देखेको सबै रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलको टावरमा निरन्तर गरिरहेका थियौं। त्यस्तै अन्य सम्बन्धित ठाउँमा पनि आवश्यक जानकारी दिएका थियौं। त्रिभुवन विमानस्थलको टावरमा कोही नभएकाले काठमाडौंमा आएका जहाजलाई हामीले नै स्कर्टिंग गरेर अवतरण गराएका थियौं। जहाज आउनेबित्तिकै विमानस्थलको अवस्था हेरेर जहाजका पाइलटलाई खबर गरेर सुरक्षित अवतरण गराउन सफल भयौं।

जानकारी तथा लेखहरु
सुझाउ