|
|
|
||
यसअघिका महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभावबारे थोरै अध्ययन भएका छन्। विश्व बैंकले २००६ मा गरेको एक अध्ययनअनुसार सार्सको महामारीले रेस्टुरेन्ट, हवाई यातायात र सामान्य उपभोग्य वस्तु उत्पादनमा २० प्रतिशत कमी आएको थियो। विश्व बैंकको त्यही अध्ययन पछ्याउने हो भने कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ। अमेरिकाबाट सुरू २००८ को वित्तीय संकटले विकसित मुलुकको अर्थतन्त्र ३.४ प्रतिशत, विकासशील मुलुकको २.९ र समग्र विश्व अर्थतन्त्र ०.१ प्रतिशत मात्र घटेको थियो।
चिनियाँ नयाँ वर्षको सेरोफेरोमा कोरोना भाइरस फैलिएकाले यसको आर्थिक असर व्यापक हुने अनुमान छ। पर्वको सेरोफेरोमा चीनमा खुद्रा व्यापार र यातायात गतिविधिमा ठूलो असर परेको छ। सिनेमा व्यापार लगभग शून्यमा झरेको एजेन्सीलाई उद्धृत गर्दै सेतोपाटी अनलाइनले लेखेको छ।
विदाको समय भएकाले अन्तर्राष्ट्रिय आपूर्तिमा भने खास असर परेको छैन। चिनियाँ विदाको समयलाई हेरेर विदेशी आयातकर्ताले पहिल्यै आवश्यक वस्तु जोहो गरेकाले ठूलो असर नदेखिएको हो।
हुबेइ प्रान्तका १५ सहर पूर्ण बन्द छन्। उद्योग, कलकारखानाले विदा लम्ब्याएका छन्। विदा मनाउन गएका र फर्किएर आफ्नो गन्तव्यमा जान चाहनेहरू थुनिएका छन्। रोग नियन्त्रणमा आउने र विदा चाँडै टुंगिनेमा कामदार आशावादी छन्। यसपछि पनि आर्थिक गतिविधिले गति लिन समय लाग्ने विश्लेषकको भनाइ छ।
हाल चीन विद्युतीय सामग्री तथा अन्य प्राविधिक वस्तुको सबभन्दा ठूलो आपूर्तिकर्ता हो। चिनियाँ उपभोक्ताले विश्व उत्पादनको ठूलो हिस्सा खपत गर्छन्। आन्तरिक तथा बाह्य वस्तुको खपतमा चिनियाँ उपभोक्ताको हिस्सा पछिल्ला वर्ष बढिरहेको छ। त्यसैले चिनियाँ उपभोक्ताको आम्दानी घट्नु र उपभोगलाई उनीहरूले स्थगित गर्दै लैजाँदाको असर पनि विश्व अर्थतन्त्रमा ठूलो हुन सक्छ।
चिनियाँ केन्द्रीय बैंक एउटा आशाको केन्द्र हो। उसँग ठूलो परिमाणमा विदेशी मुद्रा सञ्चित छ। सम्भावित आर्थिक मन्दीबाट उतार्न उसले आफूसँग भएको धनराशी प्रयोग गर्न सक्छ। उसले चिनियाँ बैंकहरूलाई अनिवार्य मौज्दात अनुपातको प्रावधान थोरै लचिलो बनाइदियो भने पनि झन्डै ५०० अर्ब डलर बराबर रकम लगानीका लागि खुला हुन्छ।
यसअघि चीन सरकारले २००३ मा पनि आर्थिक उत्थानका लागि व्यावसायिक र कर्पोरेट करमा कटौती गरेको थियो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |