फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाका कारण नेपालद्वारा अन्तर्राष्ट्रिय आवागमनमा कडाइ

(GMT+08:00) 2020-03-03 16:56:09

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेको छ । सरकारले सोमबार 'ट्राभल एड्भाइजरी' जारी गर्दै अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न भनेको छ । कोरोना प्रभावित ५ देशका नागरिकलाई 'अनअराइभल भिसा' सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ । कोराना प्रभावित देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन पनि रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका आफन्तलाई स्वागत तथा बिदाइमा कडाइ गरिनुका साथै स्थलमार्गबाट नेपाल भित्रिनेहरूलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मुलुकमा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गर्न पनि केही समयका लागि स्थगित गरिएको जानकारी गराउनुभयो। नेपालका ३० वटा दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघको स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । स्थलमार्गबाट भारत भएर आउनेलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनेको र नाकामा पनि उच्च सतर्कता अपनाइएको छ ।

यस्तै, सरकारले चीन तथा उसको विशेष प्रशासनिक क्षेत्र हङकङ, दक्षिण कोरिया, जापान, इटाली र इरानका नागरिकलाई नेपालले दिँदै आएको अनअराइभल भिसामा आगामी मार्च १० देखि अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको कान्तिपुर अनलाइनले लेखेको छ।

निवेदनपछि आवश्यकता र औचित्यका आधारमा ती देशका नागरिकलाई भिसा प्रदान गर्न सकिने गरी प्रावधान लागू गर्न सोमबार नै परराष्ट्र मन्त्रालयले आफ्ना राजदूतावास तथा कूटनीतिक नियोगहरूमा परिपत्र गरेको छ । त्यसअघि अध्यागमन विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीबीच सिंहदरबारमा छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकले अध्यागमन कानुनमा केही कडाइ गर्न निर्देशन दिएको भोलिपल्टै गृह मन्त्रालयले पाँच देशका नागरिकलाई अनअराइभल भिसामा अस्थायी प्रतिबन्ध लगाएको हो । नेपालले इराकसहित १२ मुलुकका नागरिक र शरणार्थीलाई अनअराइभल भिसामा रोक लगाउँदै आएको छ ।

मन्त्री ज्ञवालीले नेपालले चैतमा गर्न लागिएको सगरमाथा संवाद पनि तत्कालका लागि स्थगित भएको बताउनुभयो। नोभेम्बर २६ मा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) अघि सगरमाथा संवाद गर्ने योजना रहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रुका आफन्तजनलाई स्वागत तथा बिदाइमा कडाइ गरेको छ । कोरोना प्रभावका कारण अन्तर्राष्ट्रिय उडानतर्फ यात्रुको चाप अत्यधिक घटेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बाट प्रभावितको सूचीमा राखेका कुनै पनि देशमा उच्च शिक्षा अध्ययनका जान चाहने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नपाउने भएका छन् । संसारका ८० मुलुकमा नेपाली पढ्न जाने गरेका छन् भने वार्षिक ६० हजार जना हाराहारीले उच्च शिक्षा पढ्न जान सरकारबाट अनुमति लिने गरेका छन् ।

जानकारी तथा लेखहरु