फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी खाका बनाइँदै

(GMT+08:00) 2020-03-16 16:38:51

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि तीन दिनभित्र खाका पेस गर्न विभिन्न मन्त्रालय र नेपालस्थित संयुक्त राष्ट्रसंघका निकायहरूलाई निर्देशन दिएको छ । संक्रमण फैलिए उपचार, खानेपानी तथा सरसफाइ, आपतकालीन आश्रयस्थल, खाद्यान्न, अस्थायी शिविर निर्माण, बन्दोबस्ती व्यवस्थापन तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न नौवटा मन्त्रालय र राष्ट्रसंघीय कार्यालयलाई एकीकृत योजना पेस गर्न निर्देशन दिइएको हो ।

कोभिड–१९ विरुद्ध लड्न ११ वटा क्लस्टरमा उपचारदेखि व्यवस्थापनसम्म कार्यविभाजन गरिएको छ, जसको नेतृत्व नेपाल सरकारका निकाय र सहनेतृत्व यूएन एजेन्सीहरूले गर्नेछन् । एकीकृत योजनालाई सरकारले 'कन्टिन्जेन्ट प्लान' का रूपमा व्याख्या गरेको छ । संक्रमणविरुद्धको आन्तरिक तयारी र विपत् व्यवस्थापनका लागि गृह मन्त्रालयले संयोजन गरिरहेको कान्तिपुर अनलाइनले जनाएको छ। गृह प्रवक्ता केदारनाथ शर्माले विभिन्न मन्त्रालय र राष्ट्रसंघीय कार्यालयका प्रतिनिधि सम्मिलित बैठकले कोभिड–१९ विरुद्ध जुध्ने गरी बिहीबारभित्र 'कन्टिन्जेन्ट प्लान' पेस गर्न निर्देशन दिइएको बताउनुभयो ।

'बाढी–पहिरो, भूकम्प, आगलागी र डुबानलगायत प्राकृतिक प्रकोपविरुद्ध यसअघि चालेका कदम जसरी नै अहिले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामसम्बन्धी योजना निर्माणमा सरकार जुटेको छ,' प्रवक्ता शर्माले भन्नुभयो। प्रवक्ता शर्माले बिहीबार सबैले कन्टिन्जेन्ट प्लान पेस गर्ने र त्यसका आधारमा राजधानीसहित देशभर बन्दोबस्तीसहितको टोलीलाई तयारी हालतमा राख्ने गरी काम पूर्वतयारी थालिएको बताउनुभयो।

गृह, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, सहरी विकास, सूचना तथा सञ्चार, कृषि तथा पशुपन्छी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन र शिक्षा–विज्ञान तथा प्रविधि गरी नौ मन्त्रालयका अधिकारी र युनिसेफ, आईओएम, डब्लूएचओ, आईसीआरसी र नेपालस्थित राष्ट्रसंघीय नियोगका प्रतिनिधि सम्मिलित बैठक आइतबार भएको थियो ।

'कोरोना भाइरसविरुद्ध जुध्न र त्यसलाई फैलन नदिन पूर्वतयारीका लागि आवश्यक कदम चालिएका छन्, कतिपय कार्ययोजना बन्ने क्रममा छन्,' प्रवक्ता शर्माले भन्नुभयो, 'हरेक मन्त्रालयले आ–आफ्नो जिम्मेवारीमा पर्ने काम सम्पन्न गर्न हरेक मन्त्रालयले तोकिएका अधिकारीले नेतृत्व गर्ने र सम्बन्धित राष्ट्रसंघीय निकायले सहनेतृत्व गर्नेछन् ।' यसकै आधारमा संघ, प्रदेश र स्थानीय सरकारले प्रकोपविरुद्ध रणनीति लागू गर्नेछन् ।

यसैबीच सरकारले कोभिड–१९ विरुद्ध चालेका कदम सफल बनाउन सुरक्षाकर्मी र कर्मचारीलाई घरबिदा बस्न रोक लगाएको छ । सुरक्षाकर्मी, निजामती र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई अत्यावश्यक कामबाहेक घरबिदामा नबस्न निर्देशन दिइएको हो । गृह प्रवक्ता केदारनाथ शर्माले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई अति आवश्यक कामबाहेक जिल्ला नछाड्न निर्देशन दिइएको बताउनुभयो।

जानकारी तथा लेखहरु