फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ उपत्यकमा सार्वजनिक बसदेखि उद्योगधन्दासम्म खुकुलो

(GMT+08:00) 2020-09-10 17:28:07
काठमाडौँ उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाउँदै सार्वजनिक बसदेखि उद्योगधन्दा सञ्चालन गर्न पाइने व्यवस्था स्थानीय प्रशासनले गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार आदेश जारी गर्दै जिल्लाभित्र १६ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिने उल्लेख गरेको कारोबार अनलाइनले लेखेको छ। भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखी चलाउन सकिने उल्लेख गर्दै जारी आदेशमा मोटरसाइकल-स्कूटर समेतका निजी सवारी साधनहरू सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख छ। आदेशअनुसार सार्वजनिक तथा निजी दुवै सवारी साधनहरूमा जोर बिजोर लागू हुने तर मालवाहकमा भने लागू हुने छैन।

अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने उल्लेख छ। सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म र बेलुका ५ बजेटदेखि ७ बजेसम्म खोल्न सकिने, स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरी काठमाण्डौ उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित सामग्री सामग्री बिक्री वितरण गर्ने पसल व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न सकिने जारी आदेशमा उल्लेख छ।

टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न सकिने, सहकारी संस्थाहरू मापदण्ड पालना गरी ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न पाउने, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरू स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ। यस्तै, भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरू साताको आइतबार, मंगलबार, शुक्रबार मात्र खोल्न सकिने, फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिने छ भने फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेण्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने जनाइएको छ। सवारी साधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न सकिने तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरूको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पसमा राख्ने व्यवस्था गरी जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु गराउनुपर्ने उल्लेख गर्दै आदेशमा त्यसका लागि आवश्यक पीपीई सेट लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था भने सम्बन्धित उद्योग तथा कलकारखाना आफैले प्रबन्ध गर्नुपर्नेछ। विदेश जाने व्यक्तिहरूको आवतजावतमा सहजीकरण गर्न सकिने, स्वाब परीक्षण गराउने व्यक्तिहरू रिपोर्ट नआउञ्जेलसम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्ने, कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरू समेत स्वाब परीक्षण गराउने व्यक्तिहरूको रिपोर्ट नआउञ्जेलसम्म अनिवार्य रुपमा होम क्यारेन्टिनमा बस्नुपर्ने जनाइएको छ। उनीहरू बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयल गर्नुपर्ने तथा यस व्यवस्थाको उल्लंघन गरी हिडेमा कारबाही हुने पनि आदेशमा उल्लेख छ।

आदेशमा खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा जुलुश गर्न गराउनेदेखि भीडभाड हुने जात्रा, महोत्सव, भोजभतेर सञ्चालन गर्न, सबै प्रकारका गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोञ्जन स्थान, शैलुन, ब्यूटी पार्लर, स्वीमिङ पुल, जीमखाना लगायतका सार्वजनिक काम र गतिविधि गर्न भने निषध गरिएको छ।

जानकारी तथा लेखहरु