फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुवै देशको प्रयासले तातोपानी नाका पुनः खुलेको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2020-10-05 18:55:44

पछिल्लो पटक तीन महिनादेखि बन्द चीन र नेपालबीचको तातोपानी नाका हिजो आइतबारदेखि अस्थायीरुपमा एकातर्फी सञ्चालन आएको छ। नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल र चीनको संयुक्त प्रयासमा तातोपानी नाकाआज पुनः खुलेको बताउनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

राजदूत यान्छीले तातोपानी र रसुवा नाकाको सञ्चालनबाट नेपाललाई आवश्यक सामान आपूर्ति गर्न सहयोग पुग्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उहाँले आउनै लागेको दशैंको नेपाली मित्रहरूलाई शुभकामना समेत दिनु भएको छ।

पछिल्लो पटक असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुलेको र निर्यात भने नहुने बताइएको छ। चीनको स्वायत्त प्रदेश तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन गरिएको हो।

आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनु भएको छ। उहाँका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ। ती सामान लिन चालक र मजदुर गरी २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा सामान लोड गर्न गएका छन्। बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने छ। भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाडौँ पठाउने तयारी गरिएको छ।

खासा क्षेत्रमा नेपाली व्यवसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन्। ती कन्टेनरका सामान नेपाल भित्राउनका लागि मात्र नाका खुलेको हो। असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनका उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो। यद्यपि, तोकिएको भन्दा एक दिनअगाडि नै तातोपानी नाका खुलाइएको छ।

खासा क्षेत्रमा अड्किएका कन्टेनरका सामान नेपाल भित्रिएपछि सो नाका बन्द हुने वा नियमितरुपमा सुचारु हुने भन्ने विषयबारे केही निर्णय नभएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो। तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नजिकिएको विजया दशमीअघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्ने जानकारी दिनुभयो। सो कन्टेनरपछि नाका खुल्ने वा नखुल्नेबारे कुनै जानकारी नआएको उहाँले बताउनुभयो।

तातोपानी नाका र रसुवा नाका नियमितरुपमा खोल्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले सरकारसँग आग्रह गर्नु भएको छ। उहाँका अनुसार तातोपानी नाका २०७२ सालको भूकम्पले बन्द भएपछि दश हजारभन्दा बढी व्यापारी, मजदुरहरु बिस्थापित भएका छन्। २०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो। कोरोना महामारीको कारण देखाउँदै चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो।

जानकारी तथा लेखहरु