फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मितेरी पुल गएर सामान ल्याउनुपर्ने बाध्यता हट्यो

(GMT+08:00) 2020-10-05 18:57:52

नेपाली व्यापारीले खरिद गरेका सामग्री रसुवागढीको मितेरी पुलमा गएर ल्याउनुपर्ने बाध्यता हटेको छ। आइतबारदेखि चिनियाँ गाडीले रसुवागढी नाकावारि अर्थात नेपाली भूभागमा नै सामान ल्याइदिन थालेका नागरिक अनलाइनले लेखेको छ। कोभिड–१९ को जोखिमका कारण चिनियाँ सामग्री मितेरी पुलमा ल्याएर झार्ने गरिएको थियो।

यसले लोड अनलोड गर्न समस्या, आएका सामान नेपाल ल्याउन लामो समय लाग्ने र पानी पर्ने समयमा लोड अनलोड गर्न नसकिने समस्या थियो। नेपाली पक्षले यसबाट समस्या सिर्जना भएको भनदै समाधानका लागि चिनियाँ पक्षलाई आग्रह गरेको थियो।

आइतबार पाँचवटा चिनियाँ गाडीले ल्याएको सामान नेपालमै अनलोड गरिएको छ। यसअघि दैनिक चारवटा चिनियाँ गाडीले सामान ल्याएर मितेरी पुलमा झार्दै आएका थिए। आइतबारदेखि आयात केही बढेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो। उहाँका अनुसार अब आयात बढ्दै जानेछ। 'पहिलोपटक संख्या बढाएका कारण आइतबार पाँचवटा मात्र गाडीले सामग्री ल्याएका हुन्,' उहाँले भन्नुभयो, 'अब निरन्तर आयात बढ्छ।' पहिरोका कारण बन्द रहेको नाकामा बिहीबारबाट आयात सुरु भएको थियो।

नाका सञ्चालन र कोभिड–१९ नियन्त्रणसम्बन्धी विषयमा दुई देशका अधिकारीबीच भएको छलफलमा चिनियाँ पक्षले पहिरो हटाएर सामग्री ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कोभिड–१९ कारण पटकपटक बन्द हुँदै आएको नाकाबाट चिनियाँ पक्षले आयातमा कडाइ गर्दै आएकोमा आइतबारबाट केही खुकुलो गरेको छ। चिनियाँ सामग्रीको आयात बढ्न नसक्दा ल्हासा, सिगात्से, पाङसिङ लगायत क्षेत्रका गोदाममा सयौं कन्टेनर सामान थन्किएको छ।

जानकारी तथा लेखहरु