फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

४५ करोड लगानीमा पोखरामा फिस्टेल ड्रिमपार्क निर्माण हुँदै

(GMT+08:00) 2020-10-06 19:05:21

पोखराको मुख्य सहरबाट करिब ५ किलोमिटर दक्षिणमा रहेको पोखरा–१७ स्थित सीतापाइलामा फिस्टेल ड्रिमपार्क निर्माण भइरहेको छ। आयु इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याउन लागेको पार्क झण्डै ६५ रोपनी क्षेत्रफलमा बन्नलागेको नेपाल खबर अनलाइनले लेखेको छ।

४५ करोड रुपैयाँ लगानीको पार्क गत वैशाखमै निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। तर त्यही बीचमा कोभिड १९ संक्रमणले विश्व महामारीको रुप लिएपछि निर्माणकार्य प्रभावित भयो। संक्रमणका कारण बीचमा केही समय रोकिएको निर्माणकार्य अहिले भने धमाधम भइरहेको छ।

विभिन्न पेसा र व्यवसायमा लागेका १५ देखि २० जनाले लगानी गरेका हुन्। सुरुमा १३ जनाले कार्य सुरु गरेको पार्कमा पछि अन्य व्यवसायीहरु पनि साथ दिएको प्रालिका सञ्चालक भरत गौतमले बताउनुभयो। अहिले १८ वर्षको लागि यो ठाउँ लिजमा लिएको गौतमको भनाइ छ। पार्कमा सिटिजन बैंकले ७० प्रतिशत लगानी गर्छ भने ३० प्रतिशत सेयर आयु समूहले उठाउनेछ। अहिले बैकले नै लगानी गरिरहेको उहाँले बताउनुभयो।

गौतले भन्नुभयो, 'हामी विभिन्न पेशाका लागेका व्यक्तिहरु छौँ, म आफैँ पनि पेशाले शिक्षक थिएँ। यसमा विशेष गरेर बिजनेस पृष्ठभूमिका व्यक्तिहरु नै छन्। यो टिममा हाइड्रोमा काम गर्ने व्यक्तिहरुले लगानी गर्नुभएको छ। यो समूहले पहिलोपटक मनोरञ्जनको क्षेत्रमा लगानी गरेको हो।'

कोरोनाको कारण यसको निर्माणकार्य बीचमा रोकिए पनि अहिलेसम्म ७० प्रतिशत सम्पन्न भइसकेको छ। अहिले दैनिक ६० देखि ७० जना पार्क निर्माणमा जुटेका छन्। पार्क सञ्चालनमा आएपछि १ सय देखि १ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।'पार्कका लागि चाइनाबाट सीइ सर्टिफाइड सामग्री मात्र ल्याउँदै छौँ। त्यसकारण पनि निर्माण सम्पन्न हुन केही ढिलो भएको हो', सञ्चालक गौतमले भन्नुभयो।

बच्चादेखि वृद्धसम्म सबैलाई समेट्ने गरी पार्क निर्माण भइरहेको छ। पारिवारिक वातावरणदेखि युगलहरुका लागि राम्रो समय बिताउने उद्देश्यसाथ ड्रिमपार्क बनिरहेको सञ्चालक गौतमले बताउनुभयो। निर्माणाधीन ड्रिम पार्कलाई विशेष गरेर तीन भागमा विभाजन गरिएको छ। वेट, ड्राइ र इन्डोर गेमका लागि फरक स्थान छुट्याइएको छ। २० रोपनी क्षेत्रफलमा वाटर पार्क, ३० रोपनी क्षेत्रफलमा ड्राई पार्क तथा बाँकी १५ रोपनी क्षेत्रफलमा इन्डोर गेम, रेष्टुरेन्ट तथा पार्कमा पुग्नेहरुका लागि पार्किङ हुनेछ।

स्केलको हिसाबले सम्भवत नेपालमा नै यो ठूलो भएको पार्क निर्माताको दाबी छ। 'नेपालमा योभन्दा ठूलो स्केलको फन पार्क अन्यत्र छैन'गौतमले भन्नुभयो। इन्डोर सेक्सनमा २ देखि ३ सय बच्चाहरु एकै पटक खेल्न सक्छन्। जसमा साढे ३ देखि ८,९ वर्षको बच्चाहरु हुनेछन्। पार्कमा ३०, ३५ सिटको थ्रीडी सिनेमा हल समेत हुनेछ। जसले बच्चादेखि वृद्धसम्म सबैलाइ समेट्नेछ।

आउट डोर सेक्सन बच्चादेखि वयष्क र वृद्धहरुसम्मका लागि हुन्छ। यो स्विमिङ पुल नभई प्ले पुल हो। जहाँ ३ सय जना एकै पटक खेल्न सक्छन्। जहाँ सामुद्रिक छालको मजा लिन वेभ पुल, स्लाइड पुल, टोर्नेडो पुलको मजा लिन सकिन्छ। साथै लेजी रिभर पनि छ जहाँ ट्युवमा बसेर खेल्न सकिन्छ। ९ देखि १२ मिटरसम्मको पानीको र स्लाइड हुने पुल छ।

वाटर पार्कभित्र ६ देखि ७ वटा इभेन्ट समेटिनेछ। जहाँ परिवारका लागि ४ मिटरको फेमिली स्लाइड पुल निर्माण गरिने गौतमको भनाइ छ। ड्राइपार्कमा ८, १० वटा फेमिली रोलर कोस्टमदेखि लिएर प्लेन राइड गर्न सकिन्छ। २० मिटर अग्लो फ्रिफल टावर तथा इन्डोर गेममा १ सय ५० देखि २ सय बच्चा एकैपटक खेल्न सक्नेछन्।

विभिन्न पेशा व्यवसाय रहेका व्यक्तिहरुले पार्कको बारेमा सोचिरहेका थिए। सञ्चालक गौतमले भन्नुभयो, 'यो हामी धेरैले सोचेका थियौँ। पछि छलफल गर्दै जादाँ यस्तो बनाऔँ न त भन्ने आयो। अहिलेको समय नै त्यस्तो छ। परिवारको साथमा घुम्न जाने चलन भइरहेको समयमा पोखरामा यस्तो ठाउँ छैन। त्यसैले पोखराको मुख्य बजारबाट अलि टाढा भए पनि यो राम्रो हुन्छ भनेर हामीले काम सुरु गरेका हौँ।'यो पार्क छोटो समयका लागि नभएको बताउनुहुन्छ गौतम। त्यसैले यसलाई कसरी अगाडि बढाउने भनेर छलफलमा रहेको उहाँको भनाइ छ।'महंगो बनाएर कम मान्छे आउनुभन्दा सबैलाई हुने गरेर सुरु गर्ने योजना हो', गौतमले भन्नुभयो, 'धेरैभन्दा धेरै मानिसलाई यहाँ तान्ने हाम्रो योजना हो। त्यसैले प्याकेजमा सुरु गर्छौँ।'

तीनवटा इभेन्टमा जो जहाँ जान चाहन्छ, त्यसको लागि प्याकेजवाला टिकट दिने व्यवस्था मिलाउने बताउँदै उहाँले जहाँ उपलब्ध सबै कुरा गर्न पाउने उल्लेख गर्नुभयो। उहाँका अनुसार होल प्याकेजमा टिकट लियो भने ड्रिम पार्कमा भएका सबै ठाउँमा घुम्न सकिनेछ। खेल्न नचाहने र हेर्न मात्रै चाहनेको लागि छुट्टै टिकटको व्यवस्था गरिनेछ। त्यहाँ उसले सबै ठाउँ बाहिरबाट मात्र हेर्न पाउनेछ त भित्र जान भने पाउनेछैन।

जानकारी तथा लेखहरु