फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छङ्तुमा खुल्ने नयाँ नेपाली महावाणिज्य दूतावासको दरबन्दी निश्चित

(GMT+08:00) 2020-10-08 16:46:36

चीनको सछ्वान प्रान्तको छङ्तुमा नेपाली महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि नेपाल सरकारले सहसचिवस्तरको दरबन्दी पठाउने निश्चित गरेको छ। नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत साउदी अरबको जेद्दामा रहेको महावाणिज्यदूतावासमा रहेको सहसचिवस्तरको दरबन्दीलाई छङ्तुस्थित नेपाली महावाणिज्य दूतावासमा स्थानान्तरण गर्ने सोमबारको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको नेपाल समाज अनलाइनले लेखेको छ।

गत वर्ष चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गको नेपालको राजकीय भ्रमणका बेला दुई देशबीच सछ्वान प्रान्तको राजधानी सहर छङ्तुमा नेपाली महावाणिज्य दूतावास खोल्ने सहमति भएको थियो। राष्ट्राध्यक्षको भ्रमणका बेला भएको सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सछ्वान प्रान्तीय सरकारले उच्च प्राथमिकतामा राखेको छ। गएको पुष महिनामा नेपाल भ्रमणमा आएको सछ्वान प्रान्त वैदेशिक मामिला विभागका पार्टी सचिव याङ्ग तोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली पक्षसँग महावाणिज्य दूताबास स्थापनाको लागि भएगरेका प्रगतिबारे चासो व्यक्त गरेको थियो।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगले पदभार ग्रहण गरेको केही समयमा नै उहाँलाई भेट्न सछ्वान प्रान्तकै वैदेशिक मामिला विभागकी उपप्रमुख चाङ्ग थाओ बेइजिङस्थित नेपाली राजदूताबास पुग्नु भएको थियो। उपप्रमुख थाओले शिष्टाचार भेटमा राजदूत पाण्डेसँग पनि नेपाली महावाणिज्य दूताबास खोल्न नेपालको तर्फबाट गरिएका तयारी र प्रगतिबारे चासो राख्नु भएको थियो।

नेपालको चीनसँग सबैभन्दा धेरै हवाई सम्पर्क भएको सहर छङ्तु हो। कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु हुनुअगाडि छङ्तुबाट एअर चाइना, सछ्वान एअर र तिब्बत एअरले काठमाडौँमा नियमित उडान भर्दै आइरहेका थिए। सछ्वान र लुम्बिनी प्रदेशबीच भगिनी सम्बन्ध स्थापित छ। राजधानी बेइजिङमा राजदूताबासको अतिरिक्त चीनको व्यापारिक सहर क्वाङ्चौ, तिब्बत स्वायत्त प्रदेशको ल्हासा र विशेष प्रशासनिक क्षेत्र हङ्गकङ्गमा नेपालको महावाणिज्यदूताबास रहेको छ। औद्योगिक सहर शाङ्हाईमा भने नेपालको अवैतानिक वाणिज्यदूताबास रहेको छ।

 

जानकारी तथा लेखहरु