फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड-१९का कारण असोज २० गतेदेखि बन्द तातोपानी नाका पुनः खोल्दै

(GMT+08:00) 2020-10-28 16:43:45
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ। चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो। कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताउनुभयो। चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो। भन्सार प्रमुख खत्रीकाअनुसार अब नेपाली श्रमिकहरु चीनतर्फ जानु पर्दैन, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन् ।

अनलाइनखबरका अनुसार नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी गरिएको छ। यसरी सामान ढुवानी गर्दा दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने छन्। बाढी र पहिरो जोखिमका कारण तीन महिनादेखि बन्द भएको नाका १९ असोजमा सञ्चालनमा आएको थियो, तर चीनतर्फ गएर सामान लोड गर्न खटिएका ७ जना नेपाली श्रमिकमा कोरोना देखिएपछि सञ्चालनको दोस्रो दिनमै चीनले सीमा नाका बन्द गरेको थियो।

यसैबीच कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै दुई दिनभित्रै बन्द भएको नाका खुलाउन बुधबार बैठक बस्ने ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईले जानकारी दिनुभयो। तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको थियो। वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले बताउनुभयो।

अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको चिनियाँ अधिकारीले बताए।

बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालका अनुसार केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन्। चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासलाई नाका खुल्नेबारे जानकारी गराएको बताउँदै लम्सालले भन्नुभयो, 'नाका खुलाउने तदारुकता देखाउनु नै चीनको असल मित्रताको उदाहरण हो। अब नेपालको आपूर्ति अवस्था सुरु हुन सहयोग पुग्नेछ।'

जानकारी तथा लेखहरु