फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै गरिने

(GMT+08:00) 2020-11-01 17:09:21
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिनुभयो । ''सगरमाथाको उचाइको गणना र 'प्रोसेसिङ' को काम सम्पन्न भइसकेको छ'' उहाँले भन्नुभयो, ''मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।''

''सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ'' उहाँले भन्नुभयो। घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उहाँले बताउनुभयो ।

गत वर्षको असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो । भ्रमणको क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ, ''सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन्, जस्तो जलवायु परिवर्तनको विषय र वातावरण प्रवर्द्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्नेछन् र वैज्ञानिक अध्ययन गर्नेछन्।''

नापी विभागका महानिर्देशक प्रकाश जोशीले सगरमाथाको उचाइ मापनसम्बन्धी सम्पूर्ण प्राविधिक काम सम्पन्न भई घोषणाको तयारी भइरहेको छ । अबको एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

''सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम सम्पन्न भइसकेको छ'', उहाँले भन्नुभयो, ''घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।''

उचाइ घोषणाको मिति तथा कुन तहबाट कस्तो मोडेलमा गरेर घोषणा गर्नेबारे भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर हो । २०७२ सालमा गएको भूकम्पलगायत अन्य कारणले समेत उचाइमा केही कम बेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन सुरु गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

सन् १८५६/५७ मा तत्कालीन ब्रिटिस इन्डियाको 'सर्वे अफ इन्डिया' ले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेको थियो । त्यसैलाई अहिलेसम्म मान्यता दिइँदै आएको छ । त्यसपछि अमेरिका, इटली र चीनद्वारा गरिएको मापनमा सगरमाथाको उचाइ फरकफरक पाइएको छ ।

जानकारी तथा लेखहरु