प्रसिद्ध ओपेरा लेखक क्वान हान छिंग

           चीनको युआन वंशका ओपेरा लेखक क्वान हान छिंग चीनको साहित्त्यिक इतिहास तथा ओपेराको इतिहासमा सबैभन्दा ठूला लेखकहरुमध्येका एक हुनुहुन्छ। विगत सात सय जति वर्षदेखि यता उहाँद्बारा लेखिएको ओपेरा "तौ अ युआन" लाई धेरै किसिमका भाषाहरुमा अनुवाद गरिसकिएको छ जुन विश्वका विभिन्न ठाउँहरुमा फैलिइसकेको छ।

            श्री क्वान हान छिंग सन तेह्रौं शताव्दीमा चीनको युआन वंशका लेखक हुनुहुन्थ्यो। उहाँ बुद्धिमान हुनुका साथै कविता लेख्न, बाजा बजाउन, नाचगान गर्न र चेस खेल्न सिपालु हुनुहुन्थ्यो। श्री क्वान हान छिंगले लामो समयसम्म शहरमा बसोबास गर्नुभएको थियो। उहाँले शाही अस्पतालमा काम गर्नुभएको थियो। तर चिकित्सा बारे उहाँको चासो थिएन भने ओपेरा लेख्न उहाँ मन पराउनुहुन्थ्यो। तिनताका "चा ओपेरा " युआन वंशमा निकै प्रचलित थियो। "चा ओपेरा" ले युआन वंशको मौखिक लोक-कथाको यथेष्ठतालाई अरु सम्पन्न पारेको थियो। यसबाट व्यापक रुपमा सामाजिक वास्तविकता प्रतिबिम्बित हुन्थ्यो भने उच्च तहका अधिकारी तथा सामान्य सर्वसाधारणहरु "चा ओपेरा " हेर्न मन पराउँथे। श्री क्वान हान छिंगले उच्च तहका मान्छेहरुको मनोरञ्जनका लागि ओपेरा लेख्नुभएको होइन, बरु सर्वसाधारणको दु:खबारे सबैलाई जानकारी दिने उहाँको उद्देश्य थियो।

            तिनताका युआन वंशको राजनैतिक क्षेत्र भ्रष्टाचारले व्याप्त थियो, समाजमा निकै गोलमाल थियो, र विभिन्न जातिका श्रमिकहरुको जीवन निकै दु:खदायी थियो। श्री क्वान हान छिंगले सर्वसाधारणहरुप्रति सहिष्णुता प्रदर्शन गरेर आफ्नो सरकारी अधिकारीको पदबाट राजीनामा दिई जनताको जीवनबारे जानकारी लिनुभएको थियो। उहाँले युआन वंशको "चा ओपेरा " मार्फत समाजको वास्तविक अवस्थाको विरोध गर्नुका साथै आफ्नो सामाजिक संकल्पबारे उल्लेख गर्नुभएको थियो।

            जनताको दु:ख र लोक भाषाबारे श्री क्वान हान छिंगको प्रशस्त जानकारी थियो भने कला सम्बन्धी उहाँको ठूलो क्षमता पनि थियो। यसबाट ओपेराको सिर्जनाका लागि जीवन्त शक्ति थपिएको थियो। तिनताका ओपेरा देखाउने मान्छेहरुको स्थानलाई निकै तल्लो स्तर ठानिन्थ्यो। तर श्री क्वान हान छिंग सधैं तिनीहरुसँग कुराकानी गर्नुहुन्थ्यो भने स्वयम् पनि ओपेराको निर्देशन गर्नुहुन्थ्यो र अभिनय पनि गरेर देखाउनुहुन्थ्यो। उहाँद्बारा सिर्जना गरिएको ओपेरामा त्यति बेलाको सामाजिक वास्तविकता प्रतिबिम्बित हुनुका साथै विद्रोहको भावना पनि देखिन्छ। उहाँको ओपेरामा दवाउमा बाँच्न विवश श्रमिक जनताको दु:ख प्रतिविम्वित हुनुका साथै उनिहरुलाई सोझा र बहादुर पनि देखाइएको छ। लोकप्रिय ओपेरा "तौ अ युआन" उहाँको सबैभन्दा प्रसिद्ध ओपेरा हो।

          "तौ अ युआन"मा युवती तौ अ को दु:खको कथा सुनाइएको छ। विगत सयौं वर्षदेखि यता चिनियाँ जनताले यस ओपेरालाई निकै मन पराउँदैआएका छन। चीनका दशवटा प्राचीन दु:खान्त ओपेराहरुमध्येको एक "तौ अ युआन" लाई विभिन्न भाषामा अनुवाद गरिएको छ र सारा विश्वमा व्यापक रुपमा फैलिएको छ।

           श्री क्वान हान छिंग त्यति बेलाका ओपेरा क्षेत्रका नेतृत्वदायी व्यक्ति हुनुहुन्थ्यो। उहाँका ओपेराहरुले तिनताका श्रमिक जनतालाई प्रोत्साहित गरेका थिए भने त्यसपछिको ओपेराको सिर्जनाका लागि पनि निकै प्रभावकारी भूमिका निर्वाह गरेका थिए। जीन्दगीमा श्री क्वान हान छिंगले सतसठ्ठीवटा ओपेरा लेख्नुभएको थियो र हाल तीमध्येका अठारवटा सुरक्षित छन। व्यक्तित्वको सिर्जनामा श्री क्वान हान छिंग निकै सिपालु हुनुहुन्थ्यो। चीनका प्राचीन ओपेराका रचनाकर्ताहरुमा उहाँले आफू जस्तै स्पष्ट व्यक्तित्व भएका धेरै व्यक्तिहरुको सिर्जना गर्नुभएको थियो। त्यति बेलाका अन्य कुनै पनि लेखकले त्यसो गर्नसकेको पाइँदैन।

            चीनको ओपेराको इतिहास र साहित्त्यिक इतिहासमा श्री क्वान हान छिंगको ओपेराको महत्वपूर्ण स्थान छ। उहाँलाई युआन वंशको "चा ओपेरा" का पिता भनिन्छ। यसका अतिरिक्त, विश्वको साहित्त्यिक कलाको इतिहासमा पनि श्री क्वान हान छिंगको ठूलो इज्जत छ भने उहाँलाई पूर्वी विश्वको शेक्स्पिएर पनि भनिन्छ।