"सान को यान यी" अर्थान तीनवटा राज्यहरुको कथा

         चीनको नामी प्राचीन उपन्यास "सान को यान यी" को नाउँ चीनका हरेक परीवारका मानिसलाई थाहा छ। यसमा तीनवटा राज्यहरुको कथा लेखिएको छ। चिनियाँहरुले "सान को यान यी" मा उल्लेखित युद्ध र मानिसहरु बीचको कथा निकै मन पराउँछन भने धेरै विद्बानहरुले लामो समयदेखि यसलाई पढ्दैआएका छन।

             "सान को यान यी" का लेखक लो कुआन चुंग इस्वी सम्बत चौधौं शताव्दीका मानिस हुनुहुन्छ। उहाँ सानै उमेरदेखि किताब पढ्न र इतिहासको अध्ययन गर्न मन पराउनुहुन्थ्यो। यस रुचीले पछिका दिनहरुमा उहाँलाई उपन्यास लेख्नका लागि आधार तयार पारेको थियो। श्री लो कुआन चुंगको समयमा विभिन्न जाति र विभिन्न समूहहरु बीचको मतभेद निकै ठूलो थियो। तिनताका मंगोलियाली जातिद्बारा स्थापित युआन वंशको राजनैतिक शासनले हान जातिमाथि ठूलो दवाउ सिर्जना गरेको थियो। यसप्रति हान जातिका सबै जनताको विरोध थियो भने यसैका कारण विभिन्न ठाउँहरुमा विद्रोह गरिएको देखिन्थ्यो। विभिन्न ठाउँका विद्रोही सेनाहरुले युआन वंशको सेनासँग संघर्ष गर्नुका साथै एक-अर्कासँग पनि युद्ध गर्नेगरेका थिए। युआन वंशलाई पल्टाएर चीनमा स्वयम् आफ्नो शासन-व्यवस्था कायम गर्न तिनीहरु इच्छुक थिए। युवा अवस्थामा श्री लो कुआन चुंग एउटा विद्रोही सेनाका प्रमुख हुनुहुन्थ्यो। तिनताकाको डाँबाँडोल अवस्थाको फाइदा उठाएर सम्राट बन्ने इच्छा उहाँको पनि थियो। तर अन्तमा चु युआन चांगको नेतृत्वमा रहेको विद्रोही सेनाले युआन वंशको सेनालाई पराजित गरी मिंग वंशको स्थापना गरेको थियो। आफ्नो राजनैतिक परिकल्पना विफल भएपछि श्री लो कुआन चुंगले राजीनामा गरी उपन्यास लेख्नथाल्नुभयो।

           "सान को यान यी" मा सन 184 देखि 280 सम्म, झण्डै एक सय वर्षमा भएको ऐतिहासिक कथा लेखिएको छ। श्री लो कुआन चुंगले त्यस बेलामा भएका तीनवटा राज्य सम्बन्धी प्रशस्त सामग्री र विद्रोही सेनामा बिताएको जीवनका आधारमा वै, शु तथा ऊ यी तीनवटा राज्यहरु बीचको राजनैतिक र सैनिक इतिहासको विवरण उल्लेख गर्नुभएको छ।

           "सान को यान यी" मा त्यति बेला कला क्षेत्रमा हासिल गरिएको विविध उपलव्धि बारे पनि उल्लेख गरिएको छ। श्री लो कुआन चुंगले आफ्नो उपन्यासमा सैनिक र राजनैतिक युद्धका बारेमा उल्लेख गर्नुका साथै चार सयभन्दा बढी विभिन्न व्यक्तित्वका बारेमा पनि उल्लेख गर्नुभएको छ। यसमा वै राज्यका शंकालु सम्राट छाउ छाउ, शु राज्यका बुद्धिमान सल्लाहकार, शु राज्यका बहादुर कमाण्डर चांग फै तथा ऊ राज्यका रिसाहा जनरल चौ यु आदि प्रसिद्ध मानिसहरुका बारेमा लेखिएको छ।

           श्री लो कुआन चुंगले लेख्नुभएको "सान को यान यी" साहित्यिक क्षेत्रको अमूल्य निधि हुनुका साथै यो सामन्ती समाजको विश्वकोष रुपी ग्रन्थ पनि हो। यसमा त्यस बेलाको राजनैतिक-सामाजिक जीवनका विविध पक्ष बारे सविस्तार जानकारी दिइएको छ। चीनमा हाल आएर झन-झन बढी विशेषज्ञ तथा विद्बानहरुले "सान को यान यी"को अध्ययन गर्नथाल्नुभएको छ। उहाँहरुले यस उपन्यासको ऐतिहासिक पक्ष, दक्ष तथा कुशल व्यक्तिहरु, सार्वजनिक सम्बन्ध, रणकौशल, व्यवस्थापन, सैनिक व्यवस्थापन, कला र नीतिशास्त्र आदि बारे र "सान को यान यी" को साहित्यक मूल्य र वास्तविक अर्थ बारे छलफल गर्नेगर्नुभएको छ।

             यसका साथै "सान को यान यी"ले विश्वका विभिन्न देशका जनताहरुको मन पनि जितेको छ। यस उपन्यासलाई विभिन्न भाषामा अनुवाद गरिएको छ र यो सारा विश्वमा लोकप्रिय छ।