खाली नगर देखाउने युक्तिको कथा
           चीनमा शु क ल्याङ भनेको प्रायजसो सबैका लागि परिचित नाउँ हो। यदि कुनै व्यक्तिलाई शु क ल्याङ जस्तै छ भनेर उपमा दिइएको हो भने त्यो मानिसको बुद्धिको प्रशंसा गरेको भन्ने अर्थ लाग्छ। अब तल शु क ल्याङका सम्बन्धमा एउटा कथा सुनौं।

           ईसापूर्वो तेस्रो शताब्दीमा चीनको भू-भागमा तीनवटा मुख्य देश थिए: वै राज्य, शु राज्य तथा वु राज्य। यस अवधिलाई चीनको इतिहासमा "तीन राज्य काल" भनेर चिनिन्थ्यो। यी तीनवटा राज्य बीच बेलाबखतमा लडाईं भइरहन्थ्यो, तर कसैले पनि कसैलाई स्वाहा पार्न सकेका थिएनन। शु क ल्याङ शु राज्यका जंगी सल्लाहकार थिए। लडाईंमा निपूर्णताका साथ निर्देशन दिने गरेकाले उनको नाउँ चारैतिर फैलिएको थियो।

           एक पल्टको कुरो थियो, वै राज्यले शु राज्यको रणनीतिक महत्वको ठाउँ सि छनमा दश हजारभन्दा पनि कम सैनिकहरु मात्र तैनाथ गरिएको हुँदा सैनिक शक्ति कमजोर देखिएको खबर पाएपछि महारथी स् मा ईलाई एक लाखभन्दा बढी योद्धा लिएर हमला गर्न पठाएको थियो। शु राज्यले वै राज्यको सेना सि छनतर्फ दौडेर आइरहेको जानकारी पाएपछि राजादेखि लिएर तलका सैनिकहरुसम्म सबै नै अति आत्तिन थाले। दश हजार सैनिकहरुले एक लाखभन्दा बढी शत्रुहरुको प्रतिकार गर्नु त अण्डाले पत्थरसित जुध्न खोजे झैं हो। तर सहयोग गर्नका लागि अरु ठाउँबाट फौज ल्याउन पनि भ्याइँदैनथ्यो। सि छन् नगर देख्दादेख्दै नाजुक अवस्थामा पर्नलागेको यस घडीमा कठीन अवस्थामा सधैं नै तीखो बुद्धि देखाउँदैआएका जंगी सल्लाहकार चु क ल्याङमाथि सबैले आफ्नो आशा तेर्स्याउने गरेका थिए। चु क ल्याङ पनि के गरुँ कसो गरुँ भन्ने स्थितिमा पर्न गए, तर गम्भीर स्थितिले यसको सामना गर्ने जुक्ति निकाल्नुपर्छ भनेर उनलाई वाध्य तुल्याइयो।

           चु क ल्याङले अति कपाल दुखाउने गरी चिन्तन-मनन गरेपछि अन्तमा एउटा उत्तम युक्ति निकालेका थिए। उनले नगरभित्रका सम्पूर्ण सर्वसाधारण तथा योद्धाहरुलाई केही समयका लागि अन्तै सुरक्षित ठाउँमा सरेर जाने अनि नगरको ढोका पूरै खोलेर अति थोरै मानिस मात्र शत्रुको आगमनका लागि कुरेर बस्न आदेश दिए। धेरै समय नबित्दै वै राज्यका महारथी स् मा ईले सैनिकहरु लिएर उक्त सि छन नगरलाई घेरामा पारे। तर यो नगर कडा सतर्कताको स्थितिमा हुनुपर्ने सोचिए तापनि आफ्ना सामुको दृश्य देखेर उनलाई अति आश्चर्य लाग्यो-- नगरको ढोका पूरै खोलेको खोल्यै छ, त्यसको अग्लो पर्खालमाथिको बुर्जामा पटक्कै रक्षक देखिंदैन र केवल एउटा बुढाले कुचो लिएर ढोका अगाडि बढार्ने काम गरिरहेको छ। ठिक उनी अन्योलमा परिरहेको यस बखत पर्खालमाथिको बुर्जामा को मान्छे देखा पर्‍यो भने उनको चिरकालीन द्बन्द्बी चु क ल्याङ। चु क ल्याङले निश्चिन्त भावमा आफ्नो लुगा मिलाए अनि त्यसअघि नै त्यहाँ तयार गरिराखिएको "चङ" भन्ने पूरानो बाजाको छेउमा बसी बाजा बजाउन थाले। तत्कालै बाजाको मधुरो धुन माथिको बुर्जाबाट गुञ्जिएको सुनियो। वै राज्यका जंगी अधिकृत तथा जवानहरु सबै जिल्ल परे-- शत्रु पक्षका प्रशस्त सैनिकहरुको घेरामा परेको नाजुक घडीमा शु राज्यका जंगी सल्लाहकार चु क ल्याङले भने बाजा बजाउन थाले, यसभित्रको रहष्य के होला त भनेर।

           खोलिएको द्बार तथा बाजा बजाइरहेका चु क ल्याङलाई हेरेर अति चलाख मानिएका महारथी स् मा ई क्षणभर त अलमलमा पर्नगए। उनले अघिदेखि नै चु क ल्याङको तीखो बुद्धि बारे राम्ररी थाहा पाए तापनि चु क ल्याङले नगरको द्बार पूरै खोलेर एक लाखभन्दा बढी आइलाग्ने सैनिकहरुको प्रतीक्षामा बसिरहन आँट गर्नु त बिल्कुलै उनको अनुमानभन्दा बाहिरको कुरा हो। त्यसैले नगरभित्र अवश्य पनि प्रशस्त जवानहरु लुकीछिपी कुरिरहेका छन भनेर उनले सोचे। त्यस बेला पर्खालमाथिको बुर्जाबाट आइरहेको बाजाको आवाज आँधी-बेहरी आउन लागे झैं मधुरो तालका सट्टा गतिशील तालमा सुनिन थाल्यो। स् मा ईले यो सुन्दा-सुन्दै यो चु क ल्याङले प्रत्याक्रमण गर्नका लागि फौजलाई परिचालित गर्न खोजिरहेको हो कि भनेर उनको मनमा झन-झन बढ्दो शंका-आशंका उब्जेर आयो र उनले हत्तपत्त आफ्नो सेनालाई पछि हट्न आदेश दिए। वै राज्यका हज्जारौं सैनिकहरु तुरुन्तै त्यहाँबाट हटे र फर्के। यसरी कुनै पनि सैनिकको प्रयोग नगरी शु राज्यको सि छन् नगरलाई सकुशल जोगाइयो। यही नै हो चु क ल्याङद्बारा रचिएको "खाली नगर देखाउने युक्ति"।

         चु क ल्याङको बुद्धि छर्लंग्याउने विषयका अरु अरु धेरै कथा पनि छन्। यी कथा धेरैजसो चीनका प्रसिद्ध प्राचीन उपन्यासहरुमध्येको एक "तीन राज्यको कथा"बाट उद्धृत गरिएका हुन्। यस बारे विशेष अभिरुचि भएमा त्यो उपन्यास पढ्नु बेस हुनेछ।