नो सी अर्थात् भूत-पिसाच भगाउने ओपेरा

          चीनको नो सी अर्थात् भूत-पिसाच भगाउने ओपेराको इतिहास निकै लामो छ जसको उत्पत्ति आदिम समाजको टोटेमभक्त पूजा-आराधनाबाट भएको हो। शाँग राज्य (इशा पूर्व 1600 देखि इशा पूर्व 1046सम्म) मा भूत-पिसाच भगाउनका लागि र रोग व्याधी हटाउनका लागि नियमित रुपमा पूजा-आजा गर्ने संस्कारको विकास भएको थियो। यो नै थियो नो ऊ अर्थात् प्राचीन कालमा पूजा-आजा गर्दा मुकुण्डो लगाएर भूत-पिसाच भगाउन नाच्ने नाच। यस्तो नो ऊले चीनको स्थानीय ओपेराको विकासमा ठूलो प्रभाव पारेको थियो।

           नो सी भनेको नो ऊको आधारमा विकसित भएको ओपेरा नै हो। यसमा अभिनय गर्दा अभिनेता-अभिनेत्रीहरुले काठको मुकुण्डो लगाएर भूत-पिसाच र देवी-देवताको रुपमा नाच्दै देवी-देवताले भूत-पिसाचसँगको लडाईंमा विजय हासिल गरेको लोक-कथा प्रस्तुत गर्दछन्।

           दक्षिण-पश्चिमी चीनको क्वै चौ प्रान्तको उत्तर-पूर्वी भागमा हालसम्म पनि नो सँस्कृतिका प्रशस्त अवशेषहरु संरक्षित छन। धेरै ठाउँहरुमा नो सी अर्थात भूत-पिसाच भगाउने ओपेरा देखाइन्छ। त च्याँग जिल्लामा अहिलेसम्म पनि साठीवटाभन्दा बढी नो सी ओपेरा मण्डलीहरु छन् र तिनका अभिनेता-अभिनेत्रीहरुको संख्या एक सयभन्दा बढी छ। त च्याँग जिल्लाको नो सी ओपेरा प्राचीन, सोझो र ग्राम्य हुनुका साथै यसमा नो सी अर्थात् भूत-पिसाच भगाउने ओपेरा सँस्कृतिमा पाइने बढ्ता आदिम रुप संरक्षित रहेको छ। पूजा-आराधनाका विधि पनि निकै विविध र जटिल छन।

           क्वै चौ प्रान्तको नो सी ओपेरामा प्रयोग हुने मुकुण्डोहरु प्रायजसो बैंस र सेतो चिनारको काठबाट बनाइएका हुन्छन। मुकुण्डो बनाउँदा ओपेराका पात्रहरुको स्वभावको चित्रणमा बढी ध्यान दिइएको हुन्छ। यस्ता मुकुण्डोहरुलाई निम्न किसिममा विभाजित गर्नसकिन्छ: असल देवता, क्रूर पिसाच, सामान्य मुकुण्डो, हाँसो उठाउने पात्रले लगाउने मुकुण्डो, गोरुको टाउको तर अनुहार घोडाको भएको मुकुण्डो आदि। असल देवताको मुकुण्डोबाट सरलता र भलाद्‍मीपन देखाइन्छ।

           यस चित्रमा देखाइएको मुकुण्डो हेर्दा ज्यादै प्रतिष्ठित, साहसिलो, अनौठो देखिन्छ। कालो अनुहार टल्किरहेको देखिन्छ। त्यसको आँखाको नानी बाहिर निस्केको छ, दाँत बाहिर निस्केका छन्, मुख आँ गरी खोलिएको छ र आँखी भौं माथितर्फ उठेका छन्। मुकुण्‌डोको कुँदाई छरितो छ। त्यसको अनौठो र हृष्ठपुष्ठ चेहराबाट दर्शकहरुलाई रहस्यमय पौरुष र प्राकृतिक सौन्दर्य झल्किन्छ।