याउ जातीअन्तर्गत फान याउ क्षेत्रको पोशाक

          याउ जातीको बसोबास चीनको दक्षिणी भागमा रहेको छ। याउ जातीका पोशाक-पहिरन साठी-सत्तरी किसिमका छन्। फरक-फरक ठाउँमा बस्नेहरुको पोशाक पनि फरक-फरक देखिन्छ। व्काँग सी जातीय स्वायत्त प्रदेशको थेन लिन भन्ने क्षेत्रको फान याउ क्षेत्रका महिलाहरुको पोशाक अरु अल्पसंख्यक जातीहरुको भन्दा भिन्न खालको हुन्छ। बृद्ध होस् वा केटी तिनको पोशाक समान खालको हुन्छ।

   यस चित्रमा देखाइने फान याउका महिलाको पोशाक त्यहाँको पोशाकको ढाँचा र सजावटको नमुना हो। यसमा सूक्ष्मताका साथ भरिएका बुट्टाहरु र सजावट मुख्यतः पोशाकको सामुन्ने टाँक लगाउने दुबैपट्टिको भाग, कमरमा बाँध्ने धोती, पेन्टको दुबै खुट्टा हालिने भागमा केन्द्रित रहेका छन्। फान याउ पोशाकमा भर्ने बुट्टाहरुको बनौट तीन किसिमको छ। जुन यस प्रकार छः एक, चिनियाँ अक्षर "रन र कोंग "आकारको छ, जुन एक त्रिकोण आकारको छ तर तलतिरको रेखा हटाइएको अर्ध त्रिकोण हो। यस्तो आकारमा बुट्टाहरु लस्करै गरी एकेक लाइनमा रहेका देखिन्छन्। दुइ, "चौध सियो" आकारको छ। त्यसको अर्थ एउटै बुट्टा बनाउन चौध चोटि सियो घोच्नुपर्छ। तीन, "नरोएसम्म बुट्टा बनाउने" आकारको छ। यसको नाउँबाट नै बुट्टा भर्न कति गाह्रो छ भन्ने कुरा थाहा हुन्छ। यसका लागि निकै शीप-कौशल देखाएर एकदमै धैर्यतासाथ जटिल चौकोसे आकारको, ताशको इँटा आकारको र धर्को आकारको जस्ता बुट्टाहरु छनौट गर्नुपर्छ। यसबाट फान याउ क्षेत्रमा महिलाहरुको हात कति बसेको छ र तिनलाई सुन्दरता कती मन पर्छ भन्ने कुरा प्रष्ट्याइएको छ।