चीनको लोक-कलामा उल्लेखित देवता(एक)

           प्राचीन कालमा मानिसहरुले शहरबासीहरुको रक्षाका लागि शहरलाई घेर्ने गरी खोला खन्नेगर्दथे। यसका साथै यसमा देवतासँग शहरबासीहरुका लागि आशिर्वाद माग्न प्रार्थना गर्नका लागि पनि उनीहरु शहरभित्र "छंग व्हाँग मन्दिर अर्थात् शहर-रक्षक देवताको मन्दिर" बनाउने गर्दथे। यो खासगरी शहरका स-साना खोल्साहरुको रक्षक देवताबाट विकसित भएर प्रचलित भएको थियो। ऐतिहासिक पुस्तकमा सबैभन्दा पहिले टिपोट गरिएको "शहर रक्षक देवता मन्दिर"को निर्माण सन् 239 मा पूर्वी चीनको ऊ हू शहरमा गरिएको थियो।

           सन् 1368-1644 मा शासन गर्ने मिंग वंशका संस्थापक सम्राट चु युआन चाङ्गले छंग व्हाँग मन्दिर अर्थात् शहर-रक्षक देवता मन्दिरलाई उच्च तहको स्थान दिएर जोडतोडसँग शहर रक्षक देवताको प्रचार-प्रसार गर्नुभएको थियो। शहर रक्षक देवता रसातलका नायक हुन्। त्यसैले शहर रक्षक देवता मन्दिरमा अवस्थित शहर रक्षक देवताका दुबैपट्टि रसातल संसारका न्यायाधीश, गोरु टाउके भूत, घोडा अनुहारे भूत र मानिसको आत्मा तानेर लाने सेतो अनुहारे भूत र कालो अनुहारे भूत लस्करै उभिएका छन्। मन्दिरमा शहर रक्षक देवताको एउटा मूर्ति सधैंका लागि आसिन गरिएको छ भने हातले उचालेर बाहिर घुमाउन प्रयोगमा ल्याइने शहर रक्षक देवताको अर्को एउटा मूर्ति पनि सुरक्षित राखिएको छ। वसन्त ऋतु, शरद्‍ ऋतु र हिउँद ऋतुमा एकेक पटक देवतालाई घुमाउने गरिन्थ्यो। त्यो दृश्य एकदमै भव्य र रमाइलो हुन्थ्यो। यसका साथै त्यस बेला स्थानीय रितिस्थितियुक्त अन्य गतिविधिहरुको पनि आयोजना गरिन्थ्यो।

             यस चित्रमा शहर रक्षक देवताको पाँच धर्को लामा-लामा दारी प्रदर्शित गरिएको छ। रंग लगाउँदा सानो ठाउँलाई रंगाएर विस्तारै-विस्तारै सम्पूर्ण चित्रमा बढाउने-फिंजाउने तरिका अपनाइएको छ जुन हेर्दा फुर्तिलो, गहन, पोटिलो र शानदार देखिन्छ।