कागजी घोडा कहलिने धनी होस् भन्ने आशीरवादसहितको काष्ठ साँचोबाट छापिने चित्रकारी

            कागजी घोडा भनेको वास्तवमा काठलाई खोपेर बनाइएको साँचोबाट छापिने चीनको लोक चित्रकारी हो। सामान्यतया काठमा बुट्टा खोपेर छाप्ने र हातले कोर्ने दुबै तरिकाद्बारा चित्र बनाउने गरिन्छ। अनि छापिसकिएको चित्रमा रातो र हरियो यी दुइ किसिमका रंग खण्ड-खण्ड गरी लगाइन्छ। रंग लगाउँदा कुनै नियम नभई चित्रकारले आफ्नो इच्छानुसार जुन उचित लाग्छ त्यही रंग लगाउने गर्दछ। तर एउटै चित्रमा ठूलो भागमा एउटै रंग लगाइँदैन। सिंगै चित्र हेर्दा निकै ताजा, आकर्षक र रंगीविरंगी देखिन्छ।

           दक्षिण-पूर्वी चीनको च च्याँग प्रान्तका विभिन्न ठाउँहरुमा पाइने तथाकथित कागजी घोडाले केबल काठमा बुट्टा खोपेर छाप्ने वा रंगीन छपाइको तरिकालाई तोडिदिएको छ। तिनले रंगीन बुट्टा कोर्ने, चित्रमा धर्को तान्ने, काठ खोपेर बनाइएको साँचोबाट चित्र छाप्ने र रंगीन छपाईलाई एउटैमा गाभिने तरीका अपनाएका छन्। यस्तो तरीकाबाट बनाइएको चित्रकारी हेर्दा झन् आक‌र्षक देखिन्छ। शीप-कौशल होस् वा चित्रको विषयवस्तु होस् यस्ता चित्रकारीको आफ्नै विशेषता हुन्छ। चित्रमा कोर्ने देव-देवीको रुप-आकार एकदमै सूक्ष्म, सजीव र मनमोहक देखिन्छ।

            लोक-दुनियाँमा वसन्त चाडको बेलामा घरमा टाँस्ने चित्रकारी तथा काष्ठ साँचोबाट छापिने चित्रकारीमध्ये प्रायजसो धन-सम्पति भित्र्याउने विषय-वस्तुसँग सम्बन्धित चित्रहरु छन्। त्यसको अर्थ बढीभन्दा बढी धन सम्पति आफ्नो हकमा आउनसकोस भन्ने हुन्छ।

           यस चित्रमा प्रदर्शित भण्डारको हाकिम तथा धन-सम्पति खन्याउने लक्ष्मी देवताको रुप आकार उस्तै-उस्तै देखिन्छ। भण्डारका हाकिमले आफ्नो पद सुहाउँदो टोपी र रातो बख्खु लगाउँछन्। उनको मायालु र मिजासिलो मुद्राको अनुहारमा पाँच मुठा लामा-लामा दारी छन। उनको दाँयाँ र बाँयाँ चारजना सुसारे छन्। हाकिम धन-सम्पति राख्ने भण्डारको ढोका अगाडि ठिङ्ङ उभिएका छन्। उनको निगरानीमा धन-सम्पत्ति भण्डारमा पठाइरहेको रमाइलो दृश्य देखिएको छः टेबुलमा जोख्ने तराजु राखिएको छ, त्यो तराजुको प्लेटमा युआन पाउ भन्ने चीनको प्राचीन कालमा प्रयोग हुने जुत्ता आकारका सुन वा चाँदीबाट बनाइएका डल्लाजस्ता पैसा छन र टेबुलमुनिको एउटा बाल्टिन त्यस्तो युआन पाउ भन्ने डल्लोरुपी सुनको पैसाले टन्न भरिएको छ।