चाउ सुंग थिंग

   श्री चाउ सुंग थिंगको जन्म सन् 1924 मा चीनको च च्यांग प्रान्तको तुंग यांग शहरमा भएको थियो। वालककाल देखि नै उहाँलाई संङ्गीतमा रुची थियो। उहाँले नौ वर्षको उमेरदेखि बाँसुरी वादन कला सिक्नथाल्नु भएको थियो। त्यसपछि उहाँले दुइ तारे चिनियाँ सारंगी, बीणा, तीनवटा तार भएको सीतार, सोना हर्न लगायतका जातीय बाजाहरु बजाउन सिक्नुभयो। सोह्र वर्षको उमेरमा उहाँले माध्यमिक शिक्षा हासिल गरेपछि शिक्षक-प्रशिक्षण विश्वविद्यालयमा अध्ययन गर्न थाल्नु भयो। शिक्षक-प्रशिक्षण विश्वविद्यालयबाट स्नातक गरेपछि उहाँले माध्यमिक विद्यालयमा संङ्गीत शिक्षण गर्नथाल्नुभयो। बाइस वर्षको उमेरमा आफ्ना पिताका निर्देशनमा उहाँले शांगहाई कानूना अध्ययन संस्थानमा प्रवेश गर्नुभयो।

          सन् 1949 मा श्री चाउ सुंग थिंगले आफ्नो पढाइ स्थगित गरेर कला मण्डलमा प्रवेश गर्नुभयो। त्यति बेला उहाँ तीन/चारवटा वाद्य-यन्त्र बजाउन सक्ने हुनुका साथै संङ्गीत सिर्जना गर्न पनि सक्ने भैसक्नुभएको थियो। सन् 1954 मा श्री चाउ सुंग थिंगले चीनको उत्तर-पूर्वी क्षेत्रमा आराम गरिरहनुभएको बेला एउटा बाँसुरी-संङ्गीत《विहान सबेरै》लेख्नुभयो। सन् 1956 मा श्री चाउ सुंग थिंगले च च्यांग प्रान्तको नाट्य-मण्डलीमा प्रवेश गर्नुभयो। त्यसपछि उहाँले पहिलो राष्ट्रिय संङ्गीत सातामा 《विहान सबेरै》बजाएर ठूलो सफलता हासिल गर्नुभयो।

         सन् 1964 मा पाँचौं "शांहाई वसन्त ऋतु"मा उहाँले आफैले लेखेका दुइवटा संङ्गीत— 《माउ च्यांग नदीको दृश्य》र 《चिया टिप्न व्यस्त》बजाएर श्रोताहरुको मन जित्न सफल हुनुभयो। सङ्गीत विशेषज्ञहरुले पनि उहाँको उच्च मूल्याङ्कन गर्नुभयो। त्यसपछि श्री चाउ सुंग थिंगले बाँसुरी विज्ञानको अनुसन्धान गर्नुभयो। उहाँका भाइ भौतिक वैज्ञानिक चाउ सुंग लिंगको सहयोगमा बाँसुरीको गतिको गणना तथा बाँसुरीको तापक्रम लगायतका विषय बारे उहाँले लामो समयसम्म अनुसन्धान गरी अन्तमा बाँसुरी उत्पादनका लागि वैज्ञानिक तरिका प्रस्तुत गर्नुभयो।

         श्री चाउ सुंग थिंगले शिक्षा-दिक्षा कार्यमा पनि ठूलो उपलव्धि हासिल गर्नुभएको छ। उहाँका विद्यार्थीहरुमध्ये धेरैजनाले स्वदेश र विदेशमा समेत लोकप्रियता कमाएका छन। चीनको बाँसुरी वादन सम्बन्धी तरिकालाई "दक्षिणी पक्ष" तथा " उत्तरी पक्ष"मा विभाजित गरिएको छ। श्री चाउ सुंग थिंगले युगको भावनालाई अरु राम्रोसँग अभिव्यक्त गर्नका लागि "दक्षिणी पक्ष" तथा " उत्तरी पक्ष" बीचको सिमानालाई तोडेर आफ्नो विशेषतायुक्त "च पक्ष" को स्थापना गर्नुभयो। यसका अतिरिक्त, उहाँले चीनको एउटा परम्परागत बाजा— सोना बजाउने कलालाई बाँसुरी वादन कलामा प्रयोग गर्नुभयो। उहाँको बाँसुरी वादन कलामा आफ्नै विशेषता रहेको छ। त्यसमा बजाउने, संङ्गीत बनाउने, शिक्षा-दिक्षा, अनुसन्धान, उत्पादन लगायतका क्षेत्र समावेश गरिएको छ।

          श्री चाउ सुंग थिंगको कला अवधारणा के हो भने, "कुनै पनि वादन कला विषयको अभिव्यक्तिका लागि समर्पित हुनुपर्छ। बाँसुरी बजाउने शीपलाई निरन्तर रुपमा विकसित पार्नुपर्छ। विषयको अभिव्यक्तिका लागि फाइदाजनक रहेको जुनसुकै शीपलाई हामीले अपनाउनु पर्छ। " श्री चाउ सुंग थिंगले व्यावसायिक संङ्गीत अध्ययन संस्थानमा प्रवेश नगरे तापनि उहाँले लेख्नुभएका पाठ्य-पुस्तकहरु तुलनात्मक रुपमा वैज्ञानिक ज्ञानमा आधारित छन। श्री चाउ सुंग थिंगले जातीय संङ्गीतको प्रचार-प्रसारका लागि धेरै प्रयास गर्नुभयो। सन् 2001 मा रोगको कारण उहाँको हां चौमा निधन भयो।

           सङ्गीत: 《सुनाखरीले वसन्त देखेको》