आगामी नोभेम्बर 22 तारिखमा नेपालमा हुने संविधानसभाको निर्वाचनका लागि चीन सरकारले एक करोड चिनियाँ युयान सहयोग गर्ने भएको छ। झण्डै नौ करोड नेपाली रुपैयाँ बराबरको यस सहयोगमा संविधानसभाको निर्वाचनका लागि प्रयोग हुने सामग्रीहरु रहनेछन् ।
गत जुलाइ महिनामा काठमाडौँमा सम्पन्न नेपाल चीन अन्तर सरकारी आर्थिक तथा प्राविधिक समितिको दसौँ वैठकका बेला यस विषयमा कुरा उठेको भए पनि तत्कालीन सम्झौतामा यस सहयोगको उल्लेख भएको थिएन। अर्थ मन्त्रालयको बैदेशिक सहयोग शाखाका कैलाश पोखरेलले सि.आर.आई.लाई बताउनु भए अनुसार अहिले आएर चीन सरकारले संविधानसभाको सहयोगका लागि सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
गत वर्ष शान्ति सम्झौता लागू भएर एघार वर्षे लामो समाप्त भएपछि स्थापित नेपाल सरकारले आफ्नो महत्वपूर्ण कार्यका रुपमा संविधानसभाको निर्वाचन रहेको घोषणा गरिसकेको छ। नेपाल सरकारको यस कार्यका लागि अन्तर्राष्ट्रिय समुदायले पूर्ण सहयोग गर्ने बताइसकेका छन्। यसै सिलसिलामा चीन सरकारले दिने यस खालको सहयोगलाई महत्वका साथ हेरिएको छ।
नेपाल चीन अन्तर सरकार आर्थिक तथा प्राविधिक समितिको बैठकमा चीन सरकारले सहुलियत दरमा लामो समयका लागि 20 करोड अमेरिकी डलर ऋण दिने निर्णय गरेको थियो। दुई देशबीचको उद्योग, वाणिज्य, पर्यटन, कृषि तथा शिक्षा जस्ता क्षेत्रमा सहयोग अभिवृद्धि गराउने उद्देश्य राखेर सन् 1983 को अक्टोबरमा यो समितिको स्थापना भएको हो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|