काठमाडौँमा नेपाल तिब्बत मेलाको आयोजना हुने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा व्यापार मेला आउँदो सेप्टेम्बर 11 तारिखदेखि 15 तारिखसम्म बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आयोजना हुनेभएको हो । नेपाल तिब्बत मेलाको जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गरी केन्द्रका कार्यकारी निर्देशक दिनेशचन्द्र गुप्ताले उक्त जानकारी दिनुभएको हो ।चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको व्यापारलाई व्यवस्थित गर्न तथा थप प्रचारप्रसार गर्नका लागि आलोपालो गरेर काठमाडौँ र तिब्बतमा व्यापार मेला आयोजना हुने गर्दछ ।
यसअगाडि सन् 2005 मा नेपाल तिब्बत व्यापार मेला चीनको तिब्बतमा सम्पन्न भएको थियो । नेपाल सरकार र चीनको तिब्बती सरकारबीचमा सन् 1990 मा यस्ता मेलाको अयोजना गर्ने सहमति भएको थियो ।व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक दिनेशचन्द्र गुप्ताका अनुसार आगामी महिना हुने यस व्यापार मेलामा चीनको तिब्बतमा रहेका विभिन्न 25 वटा कम्पनीहरुले भाग लिनेछन् । मेलाकै अवसर पारेर तिब्बती उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डलले नेपालको भ्रमण गर्ने कार्यक्रम रहेको पनि निर्देशक गुप्ताले जानकारी दिनुभयो ।नेपाल तिब्बत व्यापार मेलाले नेपाल र चीनबीचको भएको व्यापार घाटालाई कम गराउने कुरा निर्देशक गुप्ताले सि.आर.आई.लाई बताउनुभयो । उहाँका अनुसार सन् 2005 मा 78 करोड 44 लाख रुपैयाँ बराबरका सामग्रीहरु नेपालबाट तिब्बत निकासी भएका थिए । तिब्बत निकासी भएका सामानहरुमा वनस्पति घिउ, हस्तकलाका सामग्री, चामल, मैदा, बिस्कुट, चिया, कफि तथा चाउचाउ छन् । सोही समयमा चीनबाट 5 अर्ब 44 करोड 81 लाख रुपैँयाका सामानहरु नेपाल आयात भएका थिए । चीनको तिब्बतबाट नेपाल आयात भएका सामानहरुमा तयारी पोशाक, टेलिभिजन, घडी, सञ्चार उपकरण, मेसिनरी साधन तथा रेडियो आदि छन् । यसरी तुलना गर्दा नेपाल र तिब्बतबीचमा व्यापारमा नेपालले ठूलो घाटा सहँदै आएको देखिन्छ । त्यसकारण यस्ता व्यापार मेलाले नेपाल पक्षमा रहेको व्यापार घाटालाई कम गराउन सहयोग पुग्नेछ ।चेतनाथ आचार्यसि.आर.आई.काठमाडौँ
|