आउँदो सेप्टेम्बर 10 तारिखमा नेपालको छिमेकी मुलुक चीनको तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष तेङ्ग सियाओगाङ्गले नेपालको भ्रमण गर्नुहुने भएको छ । चार सदस्यीय उच्च स्तरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ नेपाल आउन लाग्नु भएको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक दिनेशकुमार गुप्ताले सि.आर.आई.लाई बताउनु भए अनुसार नेपालमा हुँदै गरेको नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलाको अवसर पारेर उपाध्यक्ष तेङ्ग नेपाल भ्रमण गर्न लाग्नु भएको हो ।
आगामी सेप्टेम्बर 11 तारिखदेखि 15 तारिखसम्म काठमाडौँमा हुने नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलालाई सफल बनाउनका लागि व्यापार मेला उपसमितिले विभिन्न निर्णय गरेको छ ।वाणिज्य विभागका महानिर्देशक प्रेम कुमार राईको संयोजकत्वमा 10 सदस्यीय व्यापार मेला उपसमितिको निर्णय भएको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका मुख्य अधिकृत बद्रीबहादुर कार्की सदस्य सचिव रहनु भएको यस उपसमितिमा नेपाल र चीनबीचमा काम गर्ने मैत्री संघसंस्थाहरु, उद्योग वाणिज्य संस्थाहरु तथा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु संलग्न गराइएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको बजार प्रवर्द्धन तथा व्यापार मेला महाशाखाका बिजया वैद्यले सि.आर.आई.लाई बताउनु भए अनुसार विगतका तुलनामा यो व्यापार मेलालाई व्यवस्थित र सफल बनाउनका लागि उपसमितिले विभिन्न निर्णय गरेको छ ।नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलालाई उपसमितिमा रहेका सबै संघसंस्थाले आओ बुलेटिनमा राखेर प्रचार प्रसार गर्ने तथा चीनको तिब्बतबाट नेपाल आउने प्रतिनिधिमण्डललाई स्वागत गर्दै मेलाको सफलताको शुभकामना दिँदै व्यानर राख्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी चीनबाट प्रदर्शनीमा नेपाल ल्याइने सामग्रीका लागि भन्सार छुट गराउने व्यवस्था गर्ने, अतिविशिष्ट चिनियाँ पाहुनको सुरक्षा तथा सवारी व्यवस्था मिलाउने निर्णय गर्दै यही सेप्टेम्बर 7 तारिखदेखि 11 तारिखसम्म चीनको स्यामेन शहरमा आयोजना हुने लगानी र व्यापारका लागि एघाराँ चिनियाँ अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनका लागि नेपालका निजी क्षेत्रका संघसंस्था तथा कम्पनीलाई अनुरोध गर्ने पनि निर्णय गरेको वैद्यले बताउनुभयो ।
सि.आर.आई.काठमाडौँ
|