ग्वान जाउ काठमाडौँ उडान भर्दै आएको चाइना साउथन एयरलाइन्सले उडान थप गर्ने भएको छ । आउँदो सेप्टेम्बर 5 तारिखदेखि उडान थप गर्न लागेको एयरलाइन्सका महाप्रवन्धक भिमसेन्टले सि.आर.आई.लाई बताउनुभयो । यात्रुको चाप बढेको हुनाले उडान थप गरिएको तथा सुविधा पनि थप गरिएको उहाँले बताउनुभयो ।
चाइना साउथन एयरलाइन्सले गत फेब्रुअरी 5 तारिखदेखि नेपालको काठमाडौँ र चीनको ठूलो व्यापारिक शहर ग्वान जाउबीच साताको दुईपल्ट सीधा उडान सुरु गरेको थियो । हरेक सोमबार र शुक्रबार नियमित उडान गरिरहेको एयरलाइन्सले अब बुधबार पनि उडान गर्ने भएको छ ।महाप्रवन्धक भिमसेन्टका अनुसार पहिलेको सानो जहाजका ठाउँमा बोइ 757 को ठूलो जेट बिमानबाट अब उडान गर्नेछ । दुई सय सिट क्षमता भएको यो बिमानले नेपालमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य रुपमा बढाउने छ । नयाँ जहाजमा आठ आरामदायी बिजनेस क्लासको सुविधा उपलब्ध छ । चीनको मुख्य व्यापारिक शहर ग्वान जाउ र काठमाडौँ बीचको पहिलो सीधा हवाई सेवा भएकाले नेपाल आउने अधिकांश बस्तु तथा ओहोरदोहोर गर्ने व्यवसायी यही माफत आउँछन् ।चाइना साउथनले ग्वान जाउ काठमाडौँ उडान सुरु गरेको यस सात महिनाको अवधिमा करिब तीन हजार चिनियाँ पर्यटक नेपाल भित्रिसकेका छन् ।
थप उडान र जहाजको सिट क्षमता बिस्तार हुनाले अब नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या थप बढ्नेछ ।सन् 1975 मा स्थापित चाइना साउथनले अमेरिका, अष्टलिया, जापान, कोरिया, नेदरल्याण्ड लगायतका देशमा उडान गर्दै आएको छ । चीनको सबैभन्दा ठूलो यस बायुसेवाका विश्वभर तीन सय विमान उडानमा प्रयोग भइरहेका छन् ।चेतनाथ
सि.आर.आई.काठमाडौँ
|