नेपाली व्यापारीहरुको एक प्रतिनिधिमण्डलले चीनको एक महिने भ्रमण गरेर नेपाल फर्किएको छ। नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको नेतृत्वमा 11 सदस्यीय व्यापारीहरु जुलाईको मध्यमा चीन गएर बत्तीस दिन बसी यही अगष्ट 17 तारिखमा नेपाल फर्किएको हो।
नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले सि.आर.आई.लाई बताए अनुसार दशैँमा नेपाली उपभोक्ताले चिनियाँ सामान अधिक मन पराएको हुनाले व्यापार विस्तारका लागि नेपाली व्यापारीहरु चीन गएका हुन्। नेपाली व्यापारीहरुको प्रतिनिधिमण्डलले चीनका केही व्यापारिक सहरहरुको भ्रमण गर्नुका साथै त्यहाँका व्यापारिक व्यक्ति तथा संस्थाहरुसँग आपसी छलफल गरेको थियो। प्रतिनिधिमण्डलले नेपाल भित्रिने चिनियाँ सामानहरुका मुख्य केन्द्रहरु ग्वाङजाउ, हाङ्जाउ, लिउ, सन्जन, चेच्याङ्ग, च्योङ्गच्याङ्ग र चुझ्याङ्गको भ्रमण गरेको थियो।
दशैँ र तिहारमा नेपाली उपभोक्ताले नयाँ नयाँ नमूनाका चिनियाँ सामानहरु मन पराउने हुनाले त्यस्ता सामान उत्पादन तथा बजार भाउ बुझी त्यही अनुसार सामान अर्डर गरिएको वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो। चीनमा उत्पादित लत्ताकपडा, तयारी सामान, इलेक्ट्रोनिक्स तथा इलेक्टि्रक्स सामानका साथै जुत्ता, खेलौना एवं सजावटका सामान नेपालमा लोकपि्रय मानिन्छन्। तुलनात्मक रुपमा चीनमा उत्पादित सामानहरु सस्तो पर्ने तथा टिकाउ हुने हुनाले पनि प्राय सबै नेपालीहरुले चिनियाँ सामान मन पराउने गरेका हुन्।
नेपाली घर आँगनमा दशैँ/तिहार भित्रिन झण्डै दुई महिना अगाडि नेपाली व्यापारीहरुले चीनमा गएर नेपाली उपभोक्ताको रुचि अनुसारको सामान अर्डर गर्नुलाई नेपालीहरुले सकारात्मक रुपमा लिएका छन्। नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले नेपाल र चीनबीचको व्यापारलाई व्यवस्थित गर्न यसो गरिएको बताउनुभयो। उहाँका अनुसार चीनमा गएर नमूना छनौट गर्दा तथा दशैँ र तिहारको आवश्यकता अनुसार सामान मगाउँदा सस्तो परेको पनि बताउनुभयो। बजार भाउ दैनिक रुपमा महङ्गो हुँदै गएको बेला चिनियाँ सामानको भाउ भने दिनैपिच्छे घट्दै गएको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|