काठमाडौँमा चिनियाँ भाषा सिक्ने नेपाली विद्यार्थीहरुको पहिलोपटक एच.एस.के परीक्षा हुने भएको छ । आउँदो सेप्टेम्बर महिनामा डिल्लीबजारको युनिभर्सल भाषा तथा कम्प्युटर इन्स्टिच्युटमा एच.एस.के. परीक्षा हुनेछ । औपचारिक रुपमा गतवर्ष मात्र नेपालमा चिनियाँ भाषाको गुणस्तरीय मूल्याकङ्कन प्रणाली एच.एस.के. स्थापना भएको हो । एच.एस.के. चिनियाँ भाषाको गुणस्तरीय मूल्याकङ्कन गर्ने अन्तर्राष्ट्रिय मापदण्ड हो।
युनिभर्सल भाषा तथा कम्प्युटर इन्स्टिच्युटमा चिनियाँ भाषा अध्यापन गराइरहनु भएका चिनियाँ शिक्षक मे सुन चोङले सि.आर.आई.लाई बताउनु भए अनुसार आधारभूत चिनियाँ भाषा सिकेका नेपाली विद्यार्थीहरुलाई सहभागी गराएर एच.एस.के. परीक्षा लिइनेछ। युनिभर्सल भाषा तथा कम्प्युटर इन्स्टिच्युटमा अहिले झण्डै पन्ध्रजना विद्यार्थीहरुले चिनियाँ भाषाको नियमित अध्ययन गरिरहेका छन्।
दुई वर्ष अगाडि नेपालमा चिनियाँ भाषा अध्यापन गर्न आउनु भएका मे सुन चोङका अनुसार नेपालमा चिनियाँ भाषाप्रतिको मोह बढिरहेको छ। उहाँ भन्नुहुन्छ पहिले पहिले त चिनियाँ भाषा सिक्ने नेपाली विद्यार्थी पाउन नै गाह्रो थियो । तर अहिले निकै उत्साही भएर दैनिक विद्यार्थी बढिरहेका छन् । आफूले भाषा सिकाएका कतिपय विद्यार्थीहरु अहिले चीनमा गएर अध्ययन गरिरहेको बताउँदै उनीहरु नेपालमा छँदै राम्ररी चिनियाँ भाषा बोल्न जान्ने भएको चोङको भनाइ छ। चो गतवर्ष काठमाडौँ विश्वविद्यालयको माध्यमिक विद्यालय धुलिखेलमा चिनियाँ भाषाको अध्यापन गराउनु भएको थियो भने अहिले युनिभर्सल भाषा तथा कम्प्युटर इन्स्टिच्युटमा चिनियाँ भाषा अध्यापन गराइरहनु भएको छ।
आफ्नो दुई वर्ष नेपाल बसाइ सिध्याएर आगामी महिना चीन फर्किने चो बताउनुहुन्छ। उहाँले नेपाली विद्यार्थीहरुलाई चिनियाँ भाषा सिकाउँदा सबैभन्दा पहिले यात्रा, किनमेल तथा भेटहुँदाको कुरा सिकाउने गर्नुहुन्छ। त्यसपछि विद्यार्थीको तह विस्तार हुँदै जाँदा भाषाका शब्द, वाक्य र व्याकरण सिकाउने गरेको बताउनुहुन्छ। त्यसो त उहाँले पनि केही नेपाली भाषा सिक्नु भएको छ। उहाँ भन्नुहुन्छ हेरौँ मेरा विद्यार्थीहरुले एच.एस.के. परीक्षामा राम्रो नतिजा ल्याउनेछन्।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|