चीनको ग्वाङ्सी प्रान्तका अन्तर्राष्टि्रय व्यापार प्रवर्द्धनका लागि चिनियाँ उपपरिषदका उपाध्यक्ष सुन जीआनक्वीको नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल हाल नेपाल भ्रमणमा रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल चीन गैरसरकारी सहयोग मञ्चका संयोजक कुशकुमार जोशीले सि.आर.आई.लाई बताउनु भए अनुसार हिजो मङ्गलबार उद्योग वाणिज्य महासंघमा भएको संयुक्त बैठकमा चिनियाँ प्रतिनिधिमण्डलले जलविद्युत, पूर्वाधार विकास तथा कृषिजन्य उद्योगहरुमा संयुक्त लगानी गर्न चासो देखाएको हो ।
चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा जलविद्युत, सडक र कृषिजन्य उत्पादनहरुको क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र करिब 7 अर्ब नेपाली रुपैयाँ बराबरको लगानी आउनसक्ने उपाध्यक्ष जोशीले बताउनुभयो । जोशीका अनुसार नेपालमा विदेशी लगानी तथा करसम्बन्धी नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन गर्न आएको सो प्रतिनिधिमण्डलसँग भएको छलफलमा आर्थिक विकासमा निरन्तर रुपमा अघि बढ्दै गएको ग्वाङ्सी प्रान्त र नेपालबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार एवं व्यापार घाटा कम गर्न सकिने सम्भावनाका विषयमा विस्तृत छलफल भयो ।
नेपाली र चिनियाँ पक्षबीचको उक्त बैठकमा चिनियाँ प्रतिनिधिमण्डलका नेता सुनले व्यापार घाटा कम गर्न आफ्नो संस्थाले सक्तो सहयोग गर्ने विश्वास दिलाउनु भएको छ । सुनले यसका लागि व्यावसायिक भ्रमणको आदानप्रदान, व्यापारिक मेलाको आयोजना र निरन्तर सम्पर्कमा जोड दिँदै ग्वाङ्सीमा आएर नेपाली उत्पादनहरुको प्रदर्शनी गर्न पनि नेपाली पक्षलाई सल्लाह दिनुभयो ।
चीनको ग्वाङ्सी प्रान्तमा विश्वको तेस्रो ठूलो जलविद्युत परियोजना निर्माण भइरहेको छ । आर्थिक विकासमा तीब्र गतिमा अगाडि बढिरहेको ग्वाङ्सी चीनका अन्य प्रान्तका तुलनामा विकासको चुलीमा पुगिनसकेको पनि नेता सुनले बताउनुभयो । सो अवसरमा महासंघका तफबाट नेपालको वैदेशिक लगानी तथा विभिन्न करसम्बन्धी नीतिगत व्यवस्थाका विषयमा चिनियाँ पक्षलाई जानकारी गराइएको थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|