नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या अगष्ट महिनामा पनि उच्च रह्यो । नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्या अनुसार यो वर्षको सुरुदेखि नै चिनियाँ पर्यटकहरुले नेपाल घुम्न चासो देखाएका छन् । समग्रमा सबै देशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढिरहेको भए पनि चिनियाँ पर्यटकको बढ्ने अनुपात अरुदेशको भन्दा उच्च रहेको छ ।
सन् 2006 को अगष्ट महिनामा नेपाल घुम्न आउने चिनियाँपर्यटकको संख्या चार सय पचास थियो भने यो वर्षको अगष्ट महिनामा उक्त संख्या 88 प्रतिशतले बढी आठसय सत्तचालीस पुगेको छ । साथै गतवर्षको जनवरीदेखि अगष्टसम्म नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या जम्मा तीन हजार सात सय छयासी थियो भने उक्त संख्या यो वर्षको जनवरीदेखि अगष्टसम्ममा 116 प्रतिशतले बढेर आठ हजार एकसय उन्नाननब्बे पुगेको छ ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कमा हवाइमार्गबाट आउने पर्यटकलाई मात्र राखिएको छ । तातोपानी खासाको स्थलबाटो भएर आउने चिनियाँ पर्यटकलाई यसभित्र राखिएको छैन । त्यसैगरी चीनकै अभिन्न अङ्गका रुपमा रहेको ताइवान टापुबाट नेपाल घुम्न आएका चिनियाँहरुको संख्यालाई पनि समेटिएको छैन ।
नेपालमा चिनियाँ पर्यटकहरु बढ्ने क्रम आगामी वर्षको सुरुका महिनासम्म कायम रहनेछ । यो महिनापछि अक्टोबर महिनामा चिनियाँहरुको राष्ट्रिय दिवस पर्ने हुनाले लामो विदा मनाउनका लागि चिनियाँ पर्यटकका लागि नेपाल गन्तव्य स्थल बन्नेछ । त्यसपछि आउने नयाँवर्षपछिको वसन्त चाडमा पनि चिनियाँहरु बिदा मनाउन पर्यटकीय स्थलको खोजीमा रहेका हुन्छन् । अक्टोबरको बिदा र वसन्त चाडको बिदामा अत्यधिक मात्रामा चिनियाँहरु नेपाल घुम्न आउने कुरा नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले समेत औपचारिक कार्यक्रमहरुमा बताउने गर्नुभएको छ ।
नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढिरहेकै कारणले हालसालैदेखि काठमाडौँ ग्वाङ्गजोउ उडान भर्दै आएको चिनियाँ साउथन एयरलाइन्सले आफ्नो उडान तालिकालाई बृद्धि गरको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|