नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला आजेदेखि बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भयो । व्यापार मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो तथा चीनको स्वायत्त प्रदेश तिब्बत सरकारका उपाध्यक्ष ते सिआओगाङ्गले संयुक्त रुपमा गर्नुभयो । व्यापार मेला यही सेप्टेम्बर 15 तारिखसम्म चालु रहनेछ ।
व्यापार मेलाको उद्घाटन गर्दै मनतव्य दिने क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले नेपाल र चीनबीचको सम्बन्धमा व्यापारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । चीन सरकारले ल्हासादेखि सिगाच्छेसम्म रेलवे लाइन ल्याउन लागेकोमा खुशी व्यक्त गर्दै मन्त्री महतोले नेपाली नाका तातोपानीसम्म रेलवे लाइन ल्याउनका लागि चीन सरकारलाई अनुरोध पनि गर्नुभयो । मन्त्री महतोले नेपालबाट चीनको तिब्बत निकासी हुने नेपाली सामानमा भन्सार छुट गराई व्यापार घाटा कम गराउन सहयोग गर्न पनि चीन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा चीनको स्वायत्त प्रदेश तिब्बती सरकारका उपाध्यक्ष ते सिआओगाङ्ग तिब्बतले नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्वका साथ लिएको बताउनुभयो । उहाँले हिमाल र नदीले जोडेको नेपाल तथा चीनको सम्बन्धमा व्यापारले मेरुदण्डको काम गरेको पनि बताउनुभयो । यस प्रकारका व्यापार मेलाले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउने कुरा नेता तेले बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले खासा तातोपानी नाकालाई चिनियाँ पक्षले व्यवस्थि गर्ने काम पूरा भएको र अहिले स्याप्रुबेसी रसुवा नाकालाई व्यवस्थित गर्ने तथा सडक निर्माण गर्ने काम भइरहेको बताउनुभयो । राजदूत चङ्गले नेपालमा बाढी पहिरोको समस्या भएको बेला चीनको तिब्बती सरकारले गरेको सहयोगप्रति नेपाल सरकारले व्यक्त गरेको आभारले आफूलाई खुशी बनाएको पनि बताउनुभयो ।
रिबन काटेर गरिएको उद्घाटनपछि कागजका रङ्गिचङ्गि फूल हालिएको पटका पड्काएर मनोरञ्जन पनि दिलाइएको थियो । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकाल तथा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजकाजी श्रेष्ठले पनि मन्तव्य दिनुभएको थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|