नेपालको छिमेकी मुलुक चीनले आउँदो अक्टोबर 1 तारिख आफ्नो नयाँ स्थापनाको अन्ठाउन्नौं वाषिकोत्सव मनाउँदैछ। यही अवसरमा काठमाडौं स्थित चिनियाँ दूताबासले भव्य रात्रिभोजको आयोजना गर्ने भएको छ। चिनियाँ दूताबासले सि.आर.आई.लाई दिएको जानकारी अनुसार प्रत्येक वर्ष नयाँ चीन स्थापनाको उपलक्ष्यमा रात्रिभोजको आयोजना गर्ने गरेको छ। सोही अनुरुप यस वर्ष पनि लगभग तीनसयजना पाहुनालाई निम्तो दिएर रात्रिभोजनको आयोजना गर्न लागिएको हो।
होटल याक एण्ड यतिमा आयोजना हुने रात्रिभोजमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा सभामुख सुवास नेम्बाङलाई पनि निमन्त्रणा गरिएको दूताबासले जनाएको छ। मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, उच्च पदस्थ कर्मचारीहरु तथा काठमाडौँमा रहेका विदेशी कुटनीतिक नियोगका प्रमुखहरुलाई पनि रात्रिभोजमा निमन्त्रणा गरिएको छ।
चिनियाँहरुको महान् पर्वका रुपमा रहेको अक्टोबर दिवसमा चीनमा लामो बिदा पर्ने गर्दछ। चिनियाँहरुले बिदा मनाउने ठाउँका रुपमा नेपाललाई आफ्नो गन्तव्य स्थलका रुपमा विकास गर्दै धेरै चिनियाँहरुले नेपाल घुम्न आउने समय पनि यही अक्टोबर महिनामै पर्ने गर्छ। नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले विभिन्न कार्यक्रममा अक्टोबर दिवसका अवरमा चिनियाँहरुले नेपाल घुम्न चाहेको बताइसक्नुभएको छ।
सन् 1949 को अक्टाबर 1 तारिख नयाँ चीन स्थापना भएको हो। चिनियाँ कम्युनिष्ट पार्टीका महान् नेता अध्यक्ष माओत्सेतुङ्गको नेतृत्वमा नयाँ चीन स्थापना भएको हो। नयाँ चीन स्थापना भएपछि संसारमै चीनको छवि चम्किएको छ। नेपाल र नेपालीहरुका लागि पनि नयाँ चीन स्थापना महत्वको पर्व हो। नयाँ चीन स्थापना भएपछिको आधा शताब्दीमै चीनले विश्वमै अनुकरणीय विकास गर्दै आएको छ। यस समयमा चीनले गरेको गरेको आर्थिक प्रगति तथा विज्ञान र प्रविधिमा गरेको नयाँ बिकासले नेपाललाई प्रत्यक्ष फाइदा पुग्दै आएको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|