काठमाडौँ तातोपानी खासा खण्डमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउन सुरु गरेको छ । चिनियाँ सहयोगमा निर्माण सुरु भएको अप्टिकल फाइबर बिछ्याउनका लागि चिनियाँ अन्तर्राष्ट्रिय टेलिकम कन्स्ट्रक्सन कम्पनीले आफ्नो कार्यालयसमेत स्थापना गरिसकेको छ ।
गत सेप्टेम्बर 23 तारिखमा नेपाल टेलिकम र चिनियाँ अन्तर्राष्ट्रिय टेलिकमबीच भएको सम्झौता अनुसार अप्टिकल फाइबर बिछ्याउने काम आगामी वर्ष सन् 2008 को जुलाइमा सम्पन्न हुनेछ । यसका लागि खर्च हुने 2 करोड 54 लाख चिनियाँ युयान चिनियाँ सरकारले अनुदान सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।
चिनियाँ अन्तर्राष्ट्रिय टेलिकम कन्स्ट्रक्सन कम्पनी सिआईटिसिसिको नेपाल हेडक्वाटर भक्तपुरको कौशलटारमा स्थापना भइसकेको छ । नेपाल टेलिकमको अप्टिकल फाइबर प्रोजेक्टका मेनेजर मधुसुदन कर्माचार्यले सि.आर.आई.लाई बताए अनुसार अहिले काठमाडौँ तातोपानी खण्डको धुलिखेल पछाडि तीनपिप्ले, लामीडाँडा, दोलालघाट, बलेफी, लामोसाँघु, बार्हबीसे र तातोपानीमा स्टेसन राखी एसडिएस अप्टिकल उपकरण जडान भइरहेको छ । आउँदो डिसेम्बर 15 देखि सिबिल कन्स्ट्रक्सनको काम सुरु हुने पनि मेनेजर कर्माचार्यले बताउनुभयो । अहिले अप्टिकल फाइबर ओछ्याउने कामका लागि सम्पूर्ण चिनियाँ प्राविधिक टोली काठमाडौँ आइसकेको छ । अप्टिकल फाइबर ओछ्याउने कामका लागि सम्पूर्ण उपकरण तथा प्राविधिक चिनियाँ प्रयोग हुने पनि मेनेजर कर्माचार्यले बताउनुभयो ।
काठमाडौँदेखि तातोपानी खासासम्म अप्टिकल फाइबर ओछ्याएपछि टेलिकमको गुणस्तर राम्रो हुनेछ भने अत्याधुनिक सुविधासम्पन्न हुनेछ । नेपाल टेलिकमको सुधारका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको छ भने ठूलो चिनियाँ सहयोगको प्रोजेक्टमध्ये अप्टिकल फाइबर पनि एक हो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|