चीनको विशेष प्रशासकीय क्षेत्र हङ्गकङ्गको ड्रागन एयरलाइन्सले काठमाडौँ हङ्गकङ्ग सिधा उडान सुरु गरेको छ । यही डिसेम्बर दुई तारिख आइताबारदेखि सो एयरलाइन्सले उडान थालनी गरेको हो ।
गत दुई तारिख आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा ड्रागन एयरलाइन्सको पहिलो उडानबाट काठमाडौँ आउने यात्रीलाई एयरलाइन्सका अधिकारीहरुले भव्य स्वागत गरे । फूलमाला लगाएर विमानस्थल बाहिर निस्कदै गरेका यात्रीहरु चिठ्ठा तानेर एयरलाइन्सले प्रायोजन गरेको विभिन्न उपहार तथा सुविधा लिन व्यस्त देखिन्थे ।
ड्रागन एयरलाइन्सका लागि नेपालमा आधिकारिक एजेन्ट अमरावती ट्राभल्सलाई तोकिएको छ । ड्रागन एयरलाइन्स क्याथे प्यासिफिकको भगिनी संस्था हो । यस संस्थाले हङ्गकङ्गबाट विश्वका विभिन्न सहरहरुमा उडान गर्दै आएको छ । काठमाडौँँ हङ्गकङ्ग उडान सुरु गरेको एक महिनाका लागि विशेष सहुलियत दरमा उडान गर्ने एयरलाइन्सका महाप्रवन्धक टोम राइटले सि.आर.आई.लाई बताउनुभयो । सामान्य नेपालीले पनि हङ्गकङ्ग घुम्न सकुन् भनेर जम्मा चौबीस हजार नेपाली रुपैँयामा हङ्गकङ्ग काठमाडौँ दुई तर्फी टिकट हवाई सेवाले उपलब्ध गराएको छ ।
साथै हङ्गकङ्गको ट्रान्जिट भिसाका लागि चिनियाँ दूताबाससँग समन्वय गरी पहल गरिदिने एयरलाइन्सले बताएको छ । नेपाल र चीनबीचमा सिधा हवाइ सेवा गर्ने चिनियाँ कम्पनीहरु एयर चाइना, चाइना साउथन एयरलाइन्ससँगै अब ड्रागन एयरलाइन्स पनि थपिएको छ ।
गत दुई वर्षदेखि नेपालमा चिनियाँ पर्यटकहरु बढिरहेका बेला थप हवाइ सेवाले नेपालमा चिनियाँ पर्यटकको संख्या अझ बढ्ने निश्चित छ । विभिन्न नयाँ हवाइ सेवाले नेपाली पर्यटन बजारलाई उत्साहित बनाएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|