अन्य देशका पर्यटकको तुलनामा सन् 2007 मा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्याको वृद्धिदर सबैभन्दा उच्च रहेको हो । अघिल्लो वर्ष सन् 2006 को तुलनामा गत वर्ष 2007 मा दोब्बरभन्दा बढी चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् ।
चीन सरकारले नेपाललाई गन्तव्य सूचिमा राखेको तथा नेपालको शान्ति सुव्यवस्थामा सुधार आएकाले चिनियाँ पर्यटकहरुले नेपाल घुम्न चासो देखाएका हुन् । नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्या अनुसार सन् 2007 मा चिनियाँ पर्यटकको वृद्धिदर एक सय 14 प्रतिशत रहेको छ ।
सन् 2007 नेपाली पर्यटन बजारका लागि निकै उत्साहवर्द्धक रह्यो । एकातिर पर्यटक बढ्ने क्रम तीब्र रह्यो भने अर्कोतिर सन् 2008 का लागि नेपालका होटल बुकिङ्गदर झण्डै साठी प्रतिशत पुगेको छ । सन् 2002 देखि नेपालमा चिनियाँ पर्यटक घुम्न आउने क्रम सुरु भएको हो । त्यस पछि चिनियाँ पर्यटकहरु आउने क्रम क्रमश: बढिरहेको छ । अझ त्यसमाथि सन् 2006 मा नेपालमा जनआन्दोलन भई राजनीतिक स्थायीत्व र तथा दिगो शान्तिको सुरुवात भएपछि चिनियाँ पर्यटकहरु बढ्ने क्रम सबैभन्दा उच्च रहेको छ ।
नेपाल र चीनबीचमा अत्यन्त न्यानो सम्बन्ध रहनु, यही वर्ष चीनमा आयोजना हुँदै गरेको ओलम्पिक खेलकूदको नेपालमा तीब्र प्रचारप्रसार हुनु तथा चीन र नेपाल जोड्ने हवाइ सेवामा विस्तार हुनुले पनि नेपाल घुम्ने चिनियाँ पर्यटकहरुको संख्या बढेको हो ।
एक महिना अगाडि मात्र उडान सुरु गरेको ड्रागन एयरलाइन्सले आफ्नो एक महिने परिक्षण कालमा अत्यन्त राम्रो व्यापार गरेको ड्रागन एयरलाइन्सका अमर थापाले सि.आर.आई.लाई बताउनुभयो । ड्रागन एयरलाइन्सले पनि हङ्गकङ्गबाट चिनियाँ पर्यटकलाई नेपालमा ल्याउने प्रमुख लक्ष्य राखेको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौ
|