आगामी मार्च महिनामा नेपालका सांस्कृतिक सम्पदाहरुको अध्ययन गर्नका लागि चिनियाँ प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल आगामी मार्च 21 तारिखमा काठमाडौँ आइपुग्नेछ । चिनियाँ प्रतिधिमण्डलले 23 मार्चसम्म विश्व सम्पदा सूचिमा अङ्गित सांस्कृतिक स्थलको भ्रमण गर्नेछ ।
चिनियाँ संस्कृति मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा नेपाल आउने प्रतिनिधिमण्डलमा चिनियाँ सांस्कृतिक सम्पदाविदहरु सम्लग्न रहनेछन् । काठमाडौँ उपत्यकामा रहेका भक्तपुर, काठमाडौँ, ललितपुर दरवार क्षेत्र, स्वयम्भूनाथ, वौद्धनाथ, पशुपतिनाथ तथा चाँगुनारायण युनेस्कोको विश्व सम्पदासूचिमा अङ्गित छन् । त्यसैगरी लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज तथा सगरमाथा पनि विश्व सम्पदासूचिमा अङ्गित छन् । चिनियाँ प्रतिनिधि मण्डलले सांस्कृतिक सम्पदाको संरक्षणमा नेपालले अवलम्वन गरेको कार्यको समीक्षा गर्ने, अनुगमन गर्ने, अनुभव साटासाट गर्ने तथा सहयोग विस्तार गर्ने काम गर्नेछ ।
गत वर्षको डिसेम्बर 25 तारिखदेखि गत 6 तारिखसम्म पनि चिनियाँ शिक्षा तथा संस्कृति विभागका महानिर्देशक योगाको नेतृत्वमा नौ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको थियो । गृह मन्त्रालयको निमन्त्रणामा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेपालका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो ।
युनेस्कोले सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थानलाई विश्व सम्पदा सूचिमा राख्ने गरेको छ । चीनले विश्व सम्पदा सूचिमा परेका आफ्ना स्थानहरुको संवर्द्धन तथा संरक्षण गर्ने काममा विश्वमै उदाहरणीय काम गरेको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|